२४ असार २०८३, बुधबार

प्रदेश २ मा खनाल-नेपाल पक्षले चुन्यो संसदीय दलको नेता, शत्रुघन महतोलाई जिम्मेवारी

चैत २९, २०७७
प्रदेश २ मा खनाल-नेपाल पक्षले चुन्यो संसदीय दलको नेता, शत्रुघन महतोलाई जिम्मेवारी

प्रदेश नम्बर २ मा एमाले (झलनाथ खनाल-माधव नेपाल)पक्षले संसदीय दलको नेता चयन गरेको छ ।

खनाल-नेपाल पक्षीय सांसद मात्र उपस्थित बहुमत सदस्यको बैठकले शत्रुघन महतोलाई संसदीय दलको नेता चयन गरेको हो ।

एमालेको माधवकुमार नेपाल निकट रहेका महतो एमालेको संसदीय दलको नेतामा चयन भएको जानकारी सहितको पत्र सभामुख सरोजकुमार यादवकोमा आइतवार पुगेको छ ।

एमालेमा कुल २१ जना सांसद रहेकोमा १३ जनाको सहमतिमा दलको पदाधिकारीमा नेपाल समूहका सांसदहरू चयन भएका छन् ।

दलका नेता चयन भएका महतोले लोकान्तरलाई दिएको जानकारीअनुसार नेपाल समूहका १३ जना सांसदमध्ये १२ जनाको हस्ताक्षर तथा एक जना गोविन्द न्यौपानेको मौखिक सहमतिका आधारमा शनिवार पदाधिकारी चयन गरिएको थियो ।

दलको उपनेतामा रवीन्द्र बैठा, प्रमुख सचेतकमा सुन्दरबहादुर विश्वकर्मा, सचेतकमा बेची लुंगेली चयन भएको महतोले बताए ।

शत्रुघन महतो, रवीन्द्र बैठा, सुन्दरबहादुर विश्वकर्मा, नागेन्द्र राय यादव, हसिमा खातुन, डिल्ली उप्रेती, बेची लुंगेली, मंजुकुमारी यादव, मदन सेन श्रीवास्तव, प्रमोदकुमार यादव, अशोककुमार यादव सहित १२ जना उपस्थित भएर हस्ताक्षर नै गरेका थिए भने गोविन्द न्यौपाने अस्वस्थ भएर काठमाडौंमा हुँदा फोनमा मौखिक सहमति जनाएका थिए ।

यसअघि प्रदेश सभा गठन भएका बेला एमालेका संसदीय दलको नेतामा केपी शर्मा ओली समूहका सत्यनारायण मण्डल दलको नेता चयन भएका थिए । पछि नेकपा एमाले र माओवादी मिलेर नेकपा गठन हुँदा समेत मण्डल नै नेतामा यथावत थिए । तर, प्रतिनिधि सभा विघटन भएपछि मण्डललाई बहुमत सांसदले हटाएर महतोलाई नै दलको नेतामा चयन गरेका थिए ।

'अहिले सबै पार्टीहरू विभाजित भएको तथा राजपा र सपा मिलेर बनेको जसपा समेतको दलको नेता चयन नभएको कारणले सभामुख सरोजकुमार यादवज्यूले हिजो सर्वदलीय बैठक बोलाएर आ-आफ्नो दलको पदाधिकारी चयन गरेर पठाउन भनेका थिए,' महतोले लोकान्तरसँग भने, 'त्यसपछि हामी एमालेका बहुमत सांसदले हिजो नै दलको बैठक बसेर पदाधिकारी चयन गरेका थियौं, आज उक्त पत्र सभामुखलाई बुझाएपछि उहाँले सनाखत समेत गराएर मान्यता प्रदान गर्नुभएको छ ।'

salt training

कमेन्ट गर्नुहोस्