
काठमाडौँ नजिकको शिवपूरी नागार्जुन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा लागेको आगो (डढेलो) नियन्त्रणमा हेलिकप्टरको प्रयोग गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार आगो नियन्त्रणका लागि सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिएको हो । यसअघि पाथीभरामा लागेको आगो नियन्त्रणका लागि पनि हेलिकप्टर प्रयोग गरिएको थियो ।
आगो निभाउन हेलिकप्टरमा एक हजार लिटर जाने ट्याङ्की (व्याम्बी बकेट) को प्रयोग गरिएको छ । यसअघि स्थानीय समुदाय र सुरक्षा निकायको सहभागितामा गरिएको प्रयास जारी रहँदै गर्दा फैलिने क्रम नरोकिएपछि हेलिकप्टर प्रयोग गरिएको जनाइएको छ ।