
डडेल्धुराका सामुदायिक वन डढेलोले सखाप पारेको छ ।
सुक्खायाम र गर्मी मौसमसँगै डडेल्धुराका करिब एक दर्जन सामुदायिक र सल्लेरी वनमा डढेलो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । जिल्लाका सातवटै स्थानीय तहमा रहेको सामुदायिक र सल्लेरी वन तथा महाभारत र चुरे क्षेत्रमा समेत डढेलो लागेको छ ।
स्थानीय उपभोक्ताको लापरबाहीका कारण जङ्गलमा आगलागी हुने गरेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसाद आचार्यले बताए । उनले अत्यधिक गर्मी बढ्नु र वनमा चोरी सिकार गर्ने व्यक्ति तथा गोठालाको लापरबाहीका कारण डढेलो लागेको बताए । चुरोट, बिँडी खाएर जथाभावी फाल्ने तथा लापरबाहीपूर्ण तरिकाले आगो लगाइदिँदा वनमा डढेलो लाग्ने गरेको स्थानीयवासी बताउँछन् । “नयाँ घाँस पलाउँछ भन्दै सामुदायिक वनका उपभोक्ताले आफैँ आगो लगाउने गर्दछन्,” उपभोक्ता प्रेम ठगुन्नाले बताए ।
“घाँस काट्नका लागि उपभोक्ताले आगो लगाउने गर्दछन्, त्यही आगो सुक्खा मौसमका कारण नियन्त्रणमा ल्याउन नसक्दा वन विनाश हुने गर्दछ,” उनले भने ।
गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउने तर स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसकी वन विनाश हुने गरेको परशुराम नगरपालिका–७ का मोहन सिंहले बताए ।
तीव्र हावाका कारण नियन्त्रण गर्न नसकिने भएकाले बिरुवा तथा जङ्गली जनावरको समेत मृत्यु हुने गरेको उनले बताए ।
हरेक वर्ष डिभिजन वन कार्यालयले डडेलोसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दागर्दै पनि वनमा आगो लागेको वन अधिकारीको भनाइ रहेको छ । डिभिजन वन कार्यालय डडेल्धुराको तथ्याङ्कअनुसार जिल्लाको कुल एक लाख ५३ हजार आठ हेक्टर वन क्षेत्रमध्ये एक लाख १५ हजार १५९ हेक्टर क्षेत्रफलमा ५० प्रतिशत वनमा आगो लागेको अनुमान गरिएको छ ।
खानेपानीको पाइप जल्दा समस्या डडेल्धुराको परशुराम नगरपालिकाको वनमा लागेको आगोले पानीको पाइप जलाउँदा खानेपानीको हाहाकार भएको छ ।
परशुराम नगरपालिका–७, घुम्टेगडास्थित शीतल सामुदायिक वनमा आगलागी हुँदा पाँच सय मिटर पोलिथिन पाइप जलेर नष्ट भएको सिद्धनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दानबहादुर साउदले बताए । उहाँका अनुसार गाउँका करिब ४० घरधुरीमा पानीको समस्या भएको छ । उनले खोलाको पानी पिउन बाध्य भएको स्थानीय भानबहादुर खत्रीले बताए । गोरखापत्र दैनिकमा खबर छ ।