२१ असार २०८३, आइतबार

पहाडी क्षेत्रमा पनि सर्पदंश उपचारको व्यवस्था गर्न माग

पहाडी क्षेत्रमा पनि सर्पदंश उपचारको व्यवस्था गर्न माग
सांकेतिक तस्वीर

चैत २७ गते शुक्रवार बाग्लुङको मूलपानीमा भेटिएको गोमन सर्प (किङ कोब्रा)लाई सर्प संरक्षण टोलीले सुरक्षित स्थानमा पठायो ।

उक्त सर्प गाउँ नजिकै छाडिएकाले फेरि फर्केर गाउँमा आउन सक्ने भन्दै स्थानीयवासी त्रसित छन् ।

गोमन सर्पले टोकेमा ३० मिनेटमा मानिसको मृत्यु हुन्छ । त्यस्तो विषालु सर्प बस्तीदेखि टाढा लैजानुपर्ने स्थानीयवासी रस्मी गौतमले बताइन् ।

“घरैमा आएको सर्प फेरि नआउला भन्न सकिँदैन, अन्यत्रै लगिदिएको भए हुने थियो, नजिकै छाडिँदा डर लागेको छ”, उनले भनिन् । विषालु सर्प कसरी आयो भन्ने यकिन नभएको उनले बताइन् ।

उद्धारमा खटिएका महेन्द्र कतिलाले भने यो सर्प दुई हजार २०० मिटरको उचाइसम्म पाइने बताए । दुई वर्षअघि बागलुङकै कुँडुलेमा सर्पले टोकेर एकको ज्यान गएको थियो ।

सो सर्प कुन प्रजातिको थियो भन्ने यकिन भएन । गत कात्तिकमा सर्पले टोकेकै कारण पर्वतको मोदी गाउँपालिकाका एक पत्रकारको ज्यान गएको छ । 

यी घटनाले पहाडी क्षेत्र भए पनि सर्पको टोकाइ बढेको देखिन्छ । उपचार र औषधिको व्यवस्थापन बागलुङमा पनि आवश्यकता देखिएको छ ।

“अब सर्पदंशको उपचार बागलुङको अस्पतालमा पनि आवश्यक देखियो”, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत मदन कँडेलले भने, “समयमा सोच्न सकिएन भने भोलि ठूलो दुर्घटना हुनसक्छ ।”

सामान्य तापक्रममा पनि राख्न सकिने औषधि भएकाले एकजना विशेषज्ञ डाक्टर र औषधिको व्यवस्थापन गर्नुपर्ने उनले बताए । 

बागलुङको अधिकांश भूगोल दुई हजार २०० मिटर उचाइमा पर्छ । जैमिनी नगरपालिका, गलकोट, बागलुङलगायतका भूगोल यही उचाइमा पर्छन् ।

हावापानीको परिवर्तनले पनि तापक्रम बढिरहेकाले तराईमा पाइने सर्पलाई सहज वासस्थानको रुपमा बागलुङका कतिपय स्थान सुरक्षित बन्दै गएको अर्का सहायक वन अधिकृत सन्दीप पौडेलले बताए ।

कतिलाले पनि उपचार व्यवस्थापन गर्न सुझाव दिएका छन् । बस्ती नजिकै छाडेकाले डराउन नपर्ने उनले बताए ।

भारतमा गरिएको एक अध्ययनमा २० वर्षमा छ जनालाई मात्रै गोमनले टोकेको तथ्य छ । यो सर्पले एकपटकमा ६०० मिलीग्राम विष निकाल्न सक्छ ।

मानिसको मृत्यु हुनका लागि भने २० मिलिग्राम मात्रै विष भए पनि पुग्ने उनले बताए । प्रायः किङ कोब्राले टोक्दैमा विष लाग्छ भन्नेसमेत नभएको उनले बताए । “यो सर्पले चाहेको बेला मात्र विष बमन गर्छ ।”

एक अध्ययनअनुसार भारतमा वर्षमा ५० हजार बढीलाई सर्पले टोक्ने गरेको पत्ता लागेको छ । हावापानीको परिवर्तनले गर्मी बढ्न थालेको, पाइपको ओसारपसारले तराईमा रहेका सर्प पहाडमा सर्ने गरेकोसमेत भेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्