
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफलका लागि संसद्मा रहेका राजनीतिक दलहरूको बैठक बोलाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले भने, “मुलुकको विद्यमान राजनीतिक परिस्थितिबारे सल्लाह, सुझाव र छलफलका लागि बैठक डाकिएको हो ।”
विघटित प्रतिनिधि सभा पुनस्र्थापना र नेकपा (नेकपा) मा आएको विभाजनपछि मुलुकको राजनीतिमा अन्योल देखापरेको छ । यस्तो स्थितिमा प्रधानमन्त्री ओलीले डाक्नुभएको संसद्मा रहेका दलहरूबीचको सर्वदलीय बैठकलाई राजनीतिक दलका नेताहरूले सकारात्मक रूपमा लिएका छन् ।
संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारीको दोस्रो लहरले सिर्जना गरेको समस्यालगायत विषयमा दलहरूको सुझाव लिन बैठक डाकिएको जनाइएको छ । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायतका दलहरू संसद्मा छन् । गोरखापत्र दैनिकमा खबर छ ।