
सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट व्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा चितवनको अस्पतालले अनलाइनबाटै ओपीडी टिकट काट्ने व्यवस्था मिलाएको छ ।
टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरू गरेको हो ।
अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रवारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमबीच अनलाइनबाट टिकट लिन सक्ने प्रणालीको उद्घाटन गरे ।
सो अवसरमा उनले अस्पतालको सेवालाई प्रभावकारी बनाउने क्रममा बिरामीको चापलाई मध्यनजर गरी अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरिएको बताए ।
‘घण्टौं लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘हामी अस्पताललाई सबै किसिमले अब्बल बनाउँदैछौं ।’
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालको वेभसाइटमा गएर नाम, ठेगाना, उमेर, लिङ्ग, सम्पर्क नम्बर लगायतको जानकारी भरेपछि टिकट जारी हुने जानकारी दिए । उनले बिमामार्फत काटिएको टिकटको भने प्रमाणित अस्पतालमा आएर गर्नुपर्ने बताए ।