
गर्मी बढेसँगै सर्लाहीे सदरमुकाम मलङ्गवासहित तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ ।
गर्मी मौसम शुरू हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
नगरपालिकाले समयमै लामखुट्टे मार्ने औषधि नछर्किंदा मानिसमा लामखुट्टेको टोकाइबाट हुने विभिन्न प्रकारका रोग लाग्न सक्ने सम्भावना बढ्दै गएको मलङ्गवाका स्थानीय सुन्दरश्याम यादवले बताए ।
सरसफाइ व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा मलङ्गवा नगरपालिका अन्तर्गतका १२ वटै वडा एकजुट भएर लाग्नुपर्ने अर्का स्थानीय राजेश पासवानले बताए । उचित सरसफाइ हुन नसक्दा मलङ्गवा बजार क्षेत्र तथा टोलबस्तीमा यतिबेला लामखुट्टेको प्रकोप बढेको छ ।
गत वर्ष नगरपालिकाले छर्केको औषधियुक्त धुवाँले पनि लामखुट्टेलाई केही फरक नपरेको मलङ्गवा नगरपालिका–२ का स्थानीय विजय साहले बताए । स्थानीयले यस वर्ष समयमै नगरपालिकाले प्रभावकारी औषधि खरिद गरेर छर्नुपर्ने माग गरेका छन् ।
मलङ्गवाको बजार क्षेत्र र टोल बस्तीमा नियमित सरसफाइ नहुँदा लामखुट्टेको प्रकोप बढेको स्थानीयको अनुमान छ । दैनिक रूपमा सरसफाइ गर्नुपर्ने उनीहरूको माग रहेको छ भने नगर प्रमुख निरसल साहले आफ्नो नगरपालिकाले राखेका सरसफाइकर्मीले नगर क्षेत्रको नियमित सरसफाई गरिरहेका बताए ।
उनले आफ्नो नगर क्षेत्रको लामखुट्टेको बढी प्रकोप हुने स्थानमा यस वर्ष पनि औषधि छर्किने बताए । नगरपालिकाले सकेको गर्दै गर्दा पनि लामखुट्टेको प्रकोप रोक्न सबै नगरवासी पनि सजग भएर लाग्नुपर्ने उनको भनाइ छ ।