२० असार २०८३, शनिबार

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी संसदमा अगाडि बढाउने, रिक्त स्थानमा उपचुनाव गर्ने

सर्वदलीय बैठकको निष्कर्ष : एमसीसी संसदमा अगाडि बढाउने, रिक्त स्थानमा उपचुनाव गर्ने

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलबीच अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई अविलम्ब संसदको प्रक्रियामा लैजाने विषयमा सहमति भएको छ ।

वैशाख ७ गते बस्ने प्रतिनिधि सभाको बैठकअघि नै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर एमसीसी अगाडि बढाउनेबारे दलहरूबीच सैद्धान्तिक सहमति भएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सर्वदलीय बैठकमा एमसीसीलाई प्रक्रियामा लैजाने विषयमा सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘सरकारले संसदमा पेश गरेको विषय सभामुखले स्वेच्छाचारी ढंगले रोक्न मिल्दैन, वैशाख ७ गतेअगावै कार्यव्यवस्था परामर्श समितिको बैठक राखेर एमसीसी अगाडि बढाऔं भन्ने प्रधानमन्त्रीज्यूको प्रस्तावमा उपस्थित दलले समर्थन जनाएका छन्,’ थापाले लोकान्तरसँग भने । 

बैठकपछि परराष्ट्रमन्त्री एवं प्रदीप ज्ञवालीले एमसीसी पास गर्ने कि नगर्ने भन्ने संसदको अधिकार भए पनि संसदको नेतृत्वले लामो समय प्रक्रियामा नलगेर राख्न नमिल्ने बताए । 

‘एमसीसी लामो समयदेखि अड्किएको छ, पास गर्ने कि नगर्ने संसदको अधिकार छ । सभामुखले तजबिजी अधिकार प्रयोग गरेर लामो समय रोक्न हुँदैन भन्ने सबैको धारणा छ । कार्यव्यवस्थामा छलफल गरेर टुंगोमा पुर्‍याउने सहमति भएको छ,’ ज्ञवालीले भने । 

‘सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन्’

बैठकमा प्रधानमन्त्री ओलीले सभामुख अग्नि सापकोटाको भूमिका र कार्यशैलीप्रति गम्भीर असहमति जनाएका थिए । खासगरी एमसीसी रोकेकोमा प्रधानमन्त्रीले सभामुखको आलोचना गरेका थिए । 

‘संसदमा सभामुखले काम गर्न दिएनन्, संसदले जे काम गर्नुपर्ने हो त्यो गरेन भनेर प्रधानमन्त्रीज्यूले गुनासो गर्नुभयो,’ राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भने, ‘संसदमा सभामुखले अराजक र अनैतिक काम गरिरहेका छन् भनेर उहाँले राख्नुभयो ।’

बैठकमा नेपाली कांग्रेसले सहमति जुटाएर एमसीसी अनुमोदन गर्नुपर्ने बताएको थियो । ‘सर्वदलीय बैठकमा प्रधानमन्त्रीज्यूले एमसीसी कसरी पास गर्ने भन्ने कुरा गर्नुभयो । कांग्रेसको सरकारले हस्ताक्षर गरेको एमसीसीको बारेमा हामी प्रस्ट छौं, आपत्तिजनक केही छ भने हेरौं, सदनमा छलफल गरौं भनेर कुरा राख्यौं,’ बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने ।

नेमकिपा बाहेकका दलले एमसीसी लामो समय अड्काएर राख्न नहुने धारणा राखेका थिए ।

कांग्रेस महाधिवेशन प्रभावित नहुने गरी उपनिर्वाचन

बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त विभिन्न स्थानमा उपनिर्वाचनका लागि दलहरूसँग प्रस्ताव गरेका थिए । सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेमकिपा लगायतका दलले उपनिर्वाचनका लागि तयार रहेको बताएका थिए । 

‘निर्वाचन आयोगले तोकेको समयमा निर्वाचनमा सहभागी हुन सबै दल सहमत हुनुभएको छ, नेपाली कांग्रेसले भदौमा महाधिवेशन भएकाले कार्यक्रम प्रभावित नहुने गरी कार्यतालिका प्रकाशित गरियोस् भन्ने आग्रह गरेको छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्रीज्यूले तपाईंहरूको महाधिवेशनलाई अप्ठ्यारो नपार्ने गरी चुनावको मिति घोषणा गर्न आयोगसँग छलफल गर्छाैं भन्नुभयो ।’ 

माओवादीबाट एमाले प्रवेश गरेका प्रतिनिधिसभा सदस्यहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू साह र गौरीशंकर चौधरीको स्थान रिक्त भएको छ । प्रदेश सभाका ४ सांसदको पद पनि रिक्त छ । केही स्थानीय तहका पदाधिकारी पनि रिक्त छन् । 

बैठकमा कांग्रेसले प्रतिनिधि सभाको उपसभामुखको समेत निर्वाचन गर्नुपर्ने धारणा राखेको थियो । ‘उपनिर्वाचन पनि गरौं, प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन किन रोकिएको छ त्यो पनि गरौं भन्यौं,’ पौडेलले भने । 

बैठक बहिष्कार गरेकोमा आक्रोश : माओवादी नहुँदा पनि देश चल्छ !

प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठक माओवादी केन्द्रले भने बहिष्कार गरेको थियो । प्रधानमन्त्री ओली स्वयंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रवार फोन गरेर शनिवारको सर्वदलीय बैठकमा उपस्थित हुन आग्रह गरेका थिए ।

शनिवारको सर्वदलीय बैठक माओवादीले बहिष्कार गरेको थियो । सर्वदलीय बैठकमा माओवादी अनुपस्थित भएकोबारे सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा उपस्थित नहुनु गैरजिम्मेवार कुरा भएको बताए । 

‘माओवादी केन्द्रलाई खबर नभएको भन्ने कुरा गलत हो, हिजो नै प्रचण्डले एक कार्यक्रममा हुँदा आफूलाई प्रधानमन्त्रीले फोन गरेको बताउनुभएको थियो । किन आउनुभएन ? उहाँहरूले जान्ने कुरा हो, गैरजिम्मेवार कुरा हो,’ ज्ञवालीले भने, ‘उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देश चल्छ ।’

‘कोरोना संक्रमण नियन्त्रण गरौं, लकडाउन होइन’

बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दै गएको भन्दै नियन्त्रणका उपायबारे दलहरूको सुझाव माग गरेका थिए । ‘कोरोना महामारीका विरुद्धको चुनौती दिनप्रतिदिन बढ्दो छ, सरकारले खोपको सुनिश्चितता गरोस् । आवश्यक परेमा विद्यालय बन्द गरेर तथा भीडभाड कम गर्दै रोकथाम र नियन्त्रणको उपाय अपनाओस् भन्ने सबै दलको सुझाव थियो,’ ज्ञवालीले भने । 

कांग्रेसले रोकथामका अन्य उपाय अपनाउनुपर्ने भन्दै लकडाउन नगर्न सरकारलाई सुझाव दिएको पौडेलले बताए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा र नेमकिपाका प्रतिनिधि उपस्थित थिए ।

सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरू भने सहभागी भएका थिएनन् । 

salt training

कमेन्ट गर्नुहोस्