काठमाडौं, १२ पुस — राजनीतिक गतिरोधको निकास तथा संविधान संशोधन विधेयकमा सहमतिको प्रयासस्वरूप प्रमुख सत्तारूढ घटन माओवादी केन्द्र र नेपाली कांग्रेस तथा मधेसी मोर्चा र संघीय गठबन्धनमा आबद्ध दलहरूको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्तारूढ दलका शीर्ष नेता सहभागी बैठकमा समसामयिक राजनीतिक परिस्थिति, अवरुद्ध सदन सञ्चालन, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेता रामचन्द्र पौडेल सहभागी छन् । यसैगरी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायत मधेशी मोर्चाका प्रमुख नेताहरू पनि सहभागी छन् ।
संविधान संशोधनमा नेकपा एमालेले विरोध जनाएपछि मधेसी मोर्चालाई समेत मान्य हुनेगरी सहमतिको मध्यमार्गी विकल्प र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने विषयमा समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।