
संघीय राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवज्ञा गर्ने १ हजार ५०० सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
बिहीवारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारीसाधन चलाएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ हजार ५०० सवारीसाधनलाई कारवाही गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए ।
‘हामीले बिहानदेखि दिउँसो १२ बजेसम्म १५ सय सवारीसाधन होल्ड गरेका छौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने ।
ट्राफिक प्रहरीले १ हजार २०० मोटरसाइकल, ३०० चारपांग्रे सवारीसाधन र केही बसहरू नियन्त्रणमा लिएर रोकेर (होल्ड) राखेको महाशाखाले जनाएको छ ।
महाशाखाले उपत्यकाका सबै ठाउँमा ट्राफिक प्रहरीलाई कोरोना भाइरसको संक्रमण सम्बन्धी जनचेतना फैलाउने ‘प्ले कार्ड’सहित खटाइएको छ ।