
जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमत हुने देखिएको छ ।
कूल ८७ सदस्यीय प्रदेश सभामा एमालेका मात्रै ४१ सांसद छन् । माओवादीका २ सांसद यसअघि नै पदमुक्त भएका छन्, बिहीवार जसपाका ४ सांसद पदमुक्त भएका छन् । यससँगै प्रदेशसभामा सभामुखसहित ८१ सदस्य रहन्छन् ।
जसपाका ४ सांसद पार्टीको निर्णय विपरीत मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा गएपछि पार्टीले कारवाही गरेको भन्दै प्रदेशसभा सचिवालयले बिहीवार सूचना टाँस गरेको छ ।
प्रदेश सभाले सूचना टाँस गरेर सांसदहरू पदमुक्त भइसकेपनि जसपा अध्यक्ष महन्थ ठाकुरले कारवाहीबारे कुनै निर्णय नभएको भनेर लुम्बिनी प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीलाई पत्र पठाएका छन् ।
मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश सभामा बहुमतका लागि ४१ मत चाहिन्छ । अब त्यो संख्या एमाले एक्लैसँग पुग्ने भएको छ । मुख्यमन्त्री शंकर पोखरेल ढुक्क देखिएका छन् ।
प्रदेश सभामा कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जसपाका ६ (कारवाही गरिएका सांसदसहित) र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । कारवाहीले मान्यता पाए जसपाका २ सांसद बाँकी रहन्छन् ।
नेकपा एमालेमा २ सांसद एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन् । कपिलवस्तुका विष्णु पन्थी र पाल्पाकी रमा घर्ती नेपाल पक्षमा खुलेका छन । यद्यपि सांसद पन्थीले लुम्बिनी प्रदेश संसदीय दलमा एमाले एकढिक्का रहेको बताउने गरेका छन् ।
एमाले प्रदेश लुम्बिनी प्रदेशका प्रमुख सचेतक भूमिश्वर ढकालले एमाले लुम्बिनी प्रदेश संसदीय दल एकढिक्का रहेको बताए । उनले भने, ‘जसपाका ४ सांसदलाई कारवाहीको पत्र आधिकारिकता पुष्टि भएको छैन । महन्थ ठाकुरले कारवाही गरेका छैनौं भन्नुभएको छ । कारवाही गरेर उहाँहरूको पद गए पनि एमाले अल्पमतमा छैन । एकल बहुमत पुग्छ ।’
प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि वैशाख १९ गतेका लागि विशेष अधिवेशन आह्वान गरिएको छ ।
कांग्रेस, माओवादी र जसपाले संयुक्त रूपमा अविश्वास प्रस्ताव ल्याए पनि जसपाका सन्तोष पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पनि सरकार सहभागी भएका छन् ।