
लुम्बिनी प्रदेशका ४ सांसदलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय विरुद्ध जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष निर्वाचन आयोग गएको छ ।
चार सांसदलाई पदमुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
जसपाको उपेन्द्र यादव पक्षले प्रदेशको संसदीय दलको बैठकबाट निर्णय गराएर चार जनालाई सांसदबाट हटाउन सचिवालयमा निवेदन दिएको थियो ।
प्रदेश सभा सचिवालयले चारजनालाई हिजो पदमुक्त भएको सूचना टाँसेको थियो ।
मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागि भएको भन्दै जसपाको उपेन्द्र यादव पक्षले सांसदहरु सन्तोष पाण्डे, विजय यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई सांसद पदबाट हटाउन निवेदन दिएको थियो ।
अध्यक्ष ठाकुरले निर्वाचन आयोगमा दर्ता गराएको निवेदनको बोधार्थ प्रदेश सभा सचिवालयमा पनि पठाएका छन् ।
चार सांसदलाई पदमुक्तको निर्णयसँगै जसपा औपचारिक विभाजनतर्फ उन्मुख भएको टिप्पणी गर्न थालिएको छ ।
महन्थ ठाकुर र राजेन्द्र महतोले सांसदहरुलाई पदमुक्त गर्ने प्रदेश सभाको निर्णय बदर गर्न माग गर्दै अदालतमा मुद्दा हाल्ने तयारी पनि गरेको जसपा स्रोतले बतायो ।
