बलिउडको प्रशंसित फिल्म साँड की आँखमा प्रस्तुत गरिएकी शूटर दादी भनी चिनिने चन्द्रो तोमरको मृत्यु भएको छ ।
८९ वर्षीया तोमर उत्तर प्रदेशको बागपत गाउँको निवासी थिइन् । उनलाई कोभिड पोजिटिभ देखिएपछि सास फेर्न गाह्रो भएर अस्पतालमा भर्ना गरिएको थियो ।
चन्द्रो तोमरले ६० वर्षभन्दा बढी उमेर हुँदा पहिलोपटक बन्दूक समातेकी थिइन् र उनले धेरैवटा राष्ट्रिय प्रतियोगिता जितेकी थिइन् । उनी संसारको सबभन्दा वृद्धा शार्पशूटर भएको मानिन्छ ।
उनले प्रकाशी तोमरसँग मिलेर धेरै प्रतियोगितामा भाग लिएकी थिइन् ।
चन्द्रो र प्रकाशीले सबै किसिमका सामाजिक बन्देजहरू तोडेर सपना पूरा गरेका थिए । पितृसत्ताविरुद्ध उनीहरू निरन्तर लडेका थिए ।
फिल्ममा भूमि पेडनेकरले चन्द्रो तोमरको भूमिका निर्वाह गरेकी थिइन् । भूमिले ट्विटरमा चन्द्रोलाई श्रद्धाञ्जली दिएकी छन् ।