२१ जेठ २०८३, बिहीबार

जो आफैं बिरामी छन् तर निरन्तर संक्रमितको उपचार गर्दैछन्

बैशाख २०, २०७८
जो आफैं बिरामी छन् तर निरन्तर संक्रमितको उपचार गर्दैछन्

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको कोभिड आइसोलेसन वार्डमा कार्यरत डा. पुरुषोतम बर्मा आफै अस्वस्थ छन्। कोरोना संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहने उनलाई विगत ५/६ दिनदेखि ज्वरो, रुघाखोकी र श्वास फेर्ने समस्याले सताइरहेको छ। कोरोनाको लक्षणसँग मिल्दोजुल्दो रहेको आफ्नो स्वास्थ्य समस्याभन्दा उनी वार्डमा भर्ना भएका संक्रमितको स्वास्थ्यप्रति बढी चिन्तित छन् र त आफू अस्वस्थ हुँदा पनि उपचारमा तल्लिन भइरहेका छन्।  

‘मलाई ५/६ दिनदेखी त्यति सञ्चो छैन, हिजो (शनिबार) त झन् धेरै गाह्रो भयो,’ उनले भने ‘कोरोनाको लक्षण पुरै छ, पिसिआरको लागि स्वाब दिइसकेको छु, रिपोर्ट अझै आएको छैन।’ कोरोनाको शंका लागेर बिरामीको उपचार गर्दै आफै आइसोलेट भएर बसिरहेको डा. बर्माले सुनाए। बाँके, डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी निवासी ३० बर्षका उनी विगत डेढ वर्षदेखि अस्पतालको मेडिकल अफिसर पदमा कार्यरत छन्।  

उनी यसअघि शिक्षण अस्पताल नेपालगन्जको मेडिकल आइसियु कक्षमा कार्यरत थिए। नयाँ भेरियन्टको रूपमा कोरोना महामारी फैलिएपछि अस्पतालले सोही कक्षलाई आइसोलेसन वार्ड बनायो। कोरोना संक्रमितको उपचार गर्नकै लागि उनी सोही वार्डमा काम गर्न थालेका हुन्। ‘अहिले दैनिक रूपमा कोभिडका बिरामीलाई नै हेर्नुपर्छ, मलाई आफ्नोभन्दा धेरै चिन्ता बिरामीको हुन्छ,’ उनले थपे।  

बर्मासहित मेडिकल कलेजमा कार्यरत अन्य थुप्रै स्वास्थ्यकर्मी संक्रमित छन्। अस्वस्थ भए पनि ड्युटी निभाउनुलाई डा. बर्मा आफ्नो दायित्व र कर्तव्य सम्झिन्छन्। उनले थपे, ‘अस्पतालले त मलाई बिदामा बस्नुस् भनेको हो, तर मैले यस्तो महामारीको बेलामा बिरामीको उपचार गर्न छाडेर बिदामा बस्न सकिन।’ डाक्टर र नर्सले संक्रमितको उपचारमा ध्यान दिएमा धेरैको ज्यान बच्ने बर्मा बताउँछन्। घर परिवारले पनि महामारीको समयमा आपूm सुरक्षित भएर बिरामीको सेवा गर्न सल्लाह दिने गरेको उनी सम्झिन्छन्।नागरिक दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्