१७ असार २०८३, बुधबार

संक्रमित ह्वात्तै बढेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

बैशाख २३, २०७८
संक्रमित ह्वात्तै बढेपछि लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

कोरोना भाइरस संक्रमित बिरामीको चाप बढेपछि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव भएको छ ।

बिरामीको चाप अत्याधिक र अक्सिजन आपूर्ति पुरानै अवस्थामा हुँदा अभाव खड्किएको हो ।
 
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले अस्पतालमा केही घण्टाका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आइनपुगे उपचार प्रभावित हुने बताए ।

‘अस्पतालमा अहिले दैनिक २०० सिलिण्डरको माग छ । आपूर्ति दैनिक ८०–१०० सिलिण्डर मात्र छ । त्यसैले गर्दा अभाव खड्कियो अब । आपूर्ति नबढाउने हो भने अवस्था डरलाग्दो हुनेछ,’ उनले भने ।
 
बुटवलमा मात्रै अहिले दैनिक ३०० भन्दा बढी कोरोना संक्रमित थपिँदै गएका छन् । अस्पतालका लागि नेपालगञ्जबाट अक्सिजन सप्लाइ हुने गर्छ । अभाव हुन थालेपछि अन्य सप्लायर्ससँग पनि आपूर्तिको पहल भइरहको गौतमले लोकान्तरलाई बताए ।

प्रादेशिक अस्पताल मातहत रहेको धागो कारखानास्थित कोरोना विशेष अस्पताल सञ्चालन गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालमा पहिले १५० सिलिन्डर लगिँदै आएकोमा अहिले त्यहाँ पनि माग बढेको छ ।

‘बुधबार साँझ ६० वटा मात्रै सिलिन्डर झर्‍यो,’ उनले भने, ‘अहिले केही सिलिण्डर मात्र बाँकी छन् ।’ 

अस्पतालको फिवर क्लिनिकमा आउने कोरोना शंका लागेका बिरामीलाई पनि इमर्जेन्सीमा राखेर उपचार गरिन थालिएको छ । अस्पतालमा दैनिक २०० भन्दा बढी बिरामी आउने गर्छन् ।

अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले सप्लाइ नबढ्दा अस्पतालले धान्न नसकेको लोकान्तरलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्