
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले प्रयोग गर्ने गाडी कोरोना संक्रमित बिरामी बोक्नका लागि प्रयोग गरिएको छ ।
नगर प्रमुख बाशुदेव घिमिरेले चढ्ने लु१ज ३६० र उपप्रमुख जागेश्वरदेवी चौधरीले चढ्ने लु१झ ३२६ नम्बरको स्कारपियोलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न थालिएको हो ।
‘बिरामी एम्बुलेन्स नपाएर छ्टपटिँदा हामी गाडीमा चढ्नुभन्दा एम्बुलेन्सको रूपमा प्रयोग गर्न लागेका हौं,’ नगर प्रमुख बाशुदेव घिमिरेले लोकान्तरसँग भने, ‘चालक पुरानै हुनेछन् । २४ घण्टामा जुनसुकै बेला संक्रमित बिरामीले फोन गरे तुरुन्तै घरमा पुग्नेछन् । यसले अप्ठ्यारो परिस्थितिलाई केही सहज बनाउने अपेक्षा छ ।’
नगरपालिकाका आफ्नै २ वटा एम्बुलेन्स पनि छन् । तिलोत्तमामा अहिले बुटवलपछि सबैभन्दा बढी संक्रमित थपिँदै गएका छन् ।
नगरमा दैनिक २०० भन्दा बढी संक्रमित छन् । नगरपालिकाले हालै ४० शय्यामा अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याएको छ ।