
एमालेभित्र विवाद चर्किँदै जाँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच बिहीबार भेटवार्ता भएको छ । पार्टीलाई मिलाएर लैजाने पहलस्वरुप भेटवार्ता भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार भेटमा ओली पक्षबाट नेता विष्णु पौडेल सहभागी थिए भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरु सहभागी रहेका थिए ।
भेटमा ओली र नेपालबीच एक पटक फेरि छलफल गराउने बारेमा कुराकानी भएको बताइएको छ । ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिन लागेको सन्दर्भमा नेपाल पक्ष विवादको निरुपण भएकाले ओलीलाई मत दिने नदिने द्विविधामा रहेको छ । यही बीचमा दुबै पक्षमा नेताहरु दौडधूपमा छन् भने दोस्रो तहका नेताहरुले पार्टी विभाजित हुन नहुने भन्दै मिलाउन लबिङ गर्दै आएका छन् ।
यसैबीच आजै राष्ट्रपति विद्यादेवी भण्डारी र नेता माधव कुमार नेपालबीच पनि भेट भएको छ । भेटमा राष्ट्रपतिले मिलेर अघि बढ्न सुझाएको बुझिएको छ ।