काठमाडौं, १६ जेठ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बहुमत ल्याएर सरकारमा जाने भन्दै अहिले सरकारमा जाने हतारो नभएको बताएका छन् ।
नयाँ सरकारको नेतृत्वका लागि एमालेले समेत पहल गरिरहेको चर्चाका बीच ओलीले ‘कपाली तमसुक’ गरेर आफ्नो पार्टी सरकारमा नाजाने स्पष्ट पारे ।
‘सरकार बनोस्, हामी मंसिरमा चुनाव गराएर अनि चुनावमा बहुमतका साथ राजमार्गबाट सिंहदरबार पस्ने हो,’ ओलीले थपे, ‘अनेकथरी कागज गरेर, कपाली तमसुक गरेर सरकारमा जानु छैन ।’
ओलीले नेकपा एमालेले अहिले सरकारमा जान हतारो नगरेको स्पष्ट पारे ।
‘मूल बाटोबाट जान्छौं, जस्केलाबाट होइन, ढोकाबाट पस्ने हो,’ उनले थपे । अध्यक्ष ओलीले सरकारलाई स्वेच्छाचारी नबन्न चेतावनी दिए ।
‘यही ढंगले राज्य शक्तिको दुरुपयोग गर्ने काम गर्छ भने सरकारलाई भन्न चाहन्छौ – त्यो तपाईंहरूलाई महंगो पर्नेछ,’ ओलीले भने, ‘एमाले यस देशमा छ भन्ने कुरा कांग्रेस–माओवादीलाई थाहा होस् ।’
उनले सरकारका क्रियाकलापको चर्को आलोचना गर्दै चुनावमा धाँधली गर्न राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाए ।