
नेकपा एमालेका नेता तथा सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट हट्नुपर्ने बताएका छन् ।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको भेलापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता रावलले ओली प्रधानमन्त्रीबाट हट्नुपर्ने बताए ।
खनाल–नेपाल समूहले ओलीलाई विश्वासको मत नदिने भएको छ । फागुन २८ गतेको निर्णय खारेज गर्दै २०७५ जेठ २ गते फर्किएर पार्टीलाई सहमतिका साथ अघि बढाउने प्रतिबद्धता नआएपछि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णयमा खनाल–नेपाल समूह पुगेको हो ।
नेता भीम रावलले तत्कालका लागि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने र त्यसका लागि प्रतिनिधिसभाको सोमवारको बैठकमा अनुपस्थित हुने निर्णय बैठकले गरेको जानकारी दिए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिनु भनेको लोकतन्त्रलाई कमजोर तुल्याउने र राजनैतिक नैतिकतालाई ध्वस्त गर्ने र देशको राजनीतिक स्थायित्व, नेपाली जनताको स्वाभिमान, स्वाधिनताको दृष्टिकोणबाट देश र राज्यलाई कमजोर तुल्याउने हुने हुँदा हामीले आजको प्रतिनिधि सभाको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीजीले नेपालको संविधानका धााराहरूको अपव्याख्या गरेर विश्वासको मत लिने भनेर उहाँले बोलाउन लगाउनुभएको थियो, यो बैठकमा अनुपस्थित हुने निर्णय गरेका छौं । उहाँलाई विश्वासको मत दिनुहुन्न । उहाँले प्रधानमन्त्रीबाट हट्नुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ ।’
नेता रावलले प्रधानमन्त्री ओली देशलाई राजनीतिक स्थायित्व र पार्टीलाई राजनीतिक स्थिरतातर्फ लैजानेभन्दा दललाई विभाजित गरी देश नै लथालिंगभताभुंग पार्न उद्यत भएको आरोप लगाए ।
नेता रावले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई प्रधानमन्त्री ओली स्वयंले भंग गरिसकेकाले वैध नरहेका अध्यक्षले आफ्ना सांसदलाई निर्देशन दिने अधिकार नराख्ने र अवैध अध्यक्षले दिएको निर्देशन आफूहरूलाई पनि मान्य नहुने टिप्पणी गरे ।