०३ असार २०८३, बुधबार
कोरोना संकट

कोरोनाले शव थप्दा आर्यघाटमा दाउरा अभाव: एक करोड रकमान्तर गरी निजी क्षेत्रसँग दाउरा किनिँदै !

जेठ ३, २०७८
कोरोनाले शव थप्दा आर्यघाटमा दाउरा अभाव: एक करोड रकमान्तर गरी निजी क्षेत्रसँग दाउरा किनिँदै !
सांकेतिक तस्वीर

पशुपति आर्यघाटमा शव जलाउने दाउराको अभाव भएपछि नेपाल वन निगम लिमिटेड (टिम्बर कर्पोरेसन)ले निजी क्षेत्रबाट दाउरा खरिदको लागि प्रक्रिया अगाडि बढाएको छ । 

कोरोनाको नयाँ भेरियन्टसहितको दोस्रो लहरको संक्रमण फैलिएसँगै पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि ल्याइने शवको संख्यामा वृद्धि भएपछि दाउराको अत्यधिक माग भएकाले त्यसलाई परिपूर्ति गर्न १० लाख केजी दाउरा खरिदका लागि टेण्डर अगाडि बढाएको टिम्बर कर्पोरेसन आपूर्ति शाखाकी सहायक प्रबन्धक सुष्मा आचार्यले बताइन् । 

‘पछिल्लो समयमा पशुपति अर्याघाटमा रहेको डिपोमा शव जलाउने काठको माग अत्यधिक भएपछि हामीले निजी क्षेत्रबाट खरिद गर्न टेन्डर आह्वान गरेका छौं,’ सहायक निर्देशक आचार्यले लोकान्तरसँग भनिन्, ‘टेन्डर आह्वानको अन्तिम दिन सोमवार हो ।’

उनका अनुसार आजसम्म टेन्डरको समय भएकाले त्यसको १० भित्रमा थप १० लाख किलो काठ आपूर्ति हुनेछ । 

सामान्य समयमा पशुपति आर्यघाटले दैनिक २ चट्टा अर्थात ७ हजार किलो दाउरा खपत गर्दै आएको थियो । भने अहिले झण्डै ४/५ गुणा बढी दैनिक ३० हजार केजी दाउरा खपत हुँदै आएको सहायक निर्देशक आर्चायले बताइन् । 
‘सामान्य समयमा ७ हजार किलोले पुग्थ्यो, अहिले ५ गुणा बढी दाउराको माग छ,’ निर्देशक आचार्यले भनिन् ।

यो आर्थिक वर्षमा सामान्य समयमा किन्न सक्ने कर्पोरेसनले १ लाख ३७ हजार केजी किनेर पनि नपुगेपछि थप किन्न लागेको उनले बताइन् ।

टिम्बर कर्पोरेसनले जिल्लाहरूका वन डिभिजन कार्यालयमा संकलन भएका काठलाई आफूले ल्याउने र वन डिभिजनलाई दिने गर्छ । अन्य समयमा त्यो काठले पोखराको दाहसंस्कार गर्ने डिपो र पशुपति आर्यघाटको दाहसंस्कार गर्ने डिपोमा काठ आपूर्ति गर्दै आएको थियो । पोखरामा प्राविधिक कारणले काठ पुर्‍याउन नपर्ने काठमाडौं ल्याउँदा पनि नपुग्ने भएकाले निजी क्षेत्रबाट टिम्बरले किन्न लागेको हो । 

काठमाडौं उपत्यकामा २ नम्बर प्रदेशका विभिन्न जिल्लाबाट काठ आउने गर्छ । त्यसका लागि टिम्बर कर्पोरेसनका २ वटाका १२ चक्के ट्रकले दाउरा आपूर्ति गर्दै आएको थियो भने अहिले ती ट्रकले नपुग्ने भएपछि थप काठ ल्याउनका लागि निजी क्षेत्रका थप ट्रक प्रयोग गरिरहेको कर्पोरेसनले जनाएको छ ।

१ करोड रकम रकमान्तर 

कोरोना भाइरसका कारणले पशुपति आर्यघाटमा लास धेरै आउन थालेपछि काठ किन्नका लागि थप १ करोड रकमान्तर भएको छ । 

नेपाल वन निगम लिमिटेड आपूर्ति शाखाकी सहायक निर्देशक सुष्मा आचार्यका अनुसार यसभन्दा अगाडि पशुपति आर्यघाटमा काठ ल्याउनका लागि १ करोड पैसा रकमान्तर हुँदै आएको थियो तर अहिले माग बढेपछि फेरि १ करोड पैसा रकमान्तर भएको छ ।

‘सामान्य समयमा १ करोड रुपैयाँ रकमान्तर हुन्थ्यो तर यो अवस्थामा थप १ करोड रुपैयाँ रकमान्तर गरेर टेण्डर गर्नुपरेको छ,’ सहायक निर्देशक आचार्यले लोकान्तरसँग भनिन्, ‘पोखरामा रकमान्तर हुने पैसालाई पशुपतिमा ल्याएका हौं ।’

कर्पोरेसनले दाहसंस्कारका लागि प्रतिकेजी १० रुपैयाँ दरले दाउरा बिक्री गर्दै आएको छ । पूजा कार्य, घरमा आगो बाल्न र धार्मिक कार्यका लागि प्रतिकेजी १३ रुपैयाँ र १७ रुपैयाँका दरले दाउरा बिक्री हुन्छ ।

‘लास थपिँदा काठ धेरै आवश्यक पर्‍यो’

सामान्य समयमा भन्दा अहिले शवहरू धेरै आएका कारणले दाउरा धेरै आवश्यक परेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए ।

निर्देशक खतिवडाका अनुसार सामान्य समयमा दैनिक ४० देखि ४५ वटा शव आउने गर्दथ्यो भने अहिले दैनिक ५०/६० वटासम्म शव आउने भएकाले दाउराको खपत बढी भएको हो । 

‘अहिलेको अवस्थामा लास नै धेरै आएका छन्, २४ घण्टामा ६० वटासम्म लास आएका कारण दाउराको खपत भएको हो,’ निर्देशक खतिवडाले लोकान्तरसँग भने, ‘अहिलेसम्म हामीलाई टिम्बर कर्पोरेसनले उपलब्ध गराउँदै आएको छ ।’

पशुपति क्षेत्र विकास कोषका अनुसार सामान्यतया एउटा शव जलाउनका लागि ३ सय केजीदेखि ४ सय केजीसम्म दाउराको खपत हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्