
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
चार दलीय गठबन्धन प्रदेश सभामा तत्कालीन अवस्थामा पोखरेलको पक्षमा बहुमत नभए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानविपरीत नियुक्त गरेको दाबीसहित सर्वोच्च अदालत जाने भएको हो ।
पोखरेललाई मुख्यमन्त्रीमा गरिएको नियुक्ति संविधानको मर्म र भावनाविपरीत रहेको भन्दै न्यायिक उपचार खोज्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दिन खानले जानकारी दिए ।
बुधवार विपक्षी गठबन्धनको बुटवलमा भएको बैठकले सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

पोखरेलले वैशाख १९ गते पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
उनी मुख्यमन्त्री भएपछि विपक्षी गठबन्धनले पुनः पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश गरेको थियो ।
विशेष अधिवेशन माग गरिए पनि प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन आह्वान गर्न आवश्यक नभएको भन्दै अस्वीकृत गरिदिएका थिए ।