
नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले नयाँ प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेपछि विवाद उत्पन्न भएको छ ।
एमाले पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलमा विपक्षी गठबन्धनका व्यक्तिलाई समर्थन गरिएको विषय उठेको कार्यदलका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
‘कार्यदलको बैठकमा विपक्षी गठबन्धनलाई समर्थन जनाउँदै हस्ताक्षर गरिएकोमा छलफल भएको थियो । कतिपय साथीहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको बताउनुभयो भने केहीले संसद विघटन रोक्नका निम्ति हस्ताक्षर गरिएको बताउनुभयो,’ ज्ञवालीले भने ।
बैठकमा नेपाल पक्षीय नेता भीम रावलले संसद विघटन रोक्न देउवालाई समर्थन गरिएको तर्क गरेका थिए । तर अध्यक्ष केपी शर्मा ओली पक्षका सदस्यले संसद विघटन नगरिने जवाफ दिएका थिए । ‘संसद विघटनको कुरा उठेपछि हामीले प्रधानमन्त्रीले संसद विघटन नगर्ने कुरा आश्वस्त पारेका छौं,’ ज्ञवालीले भने ।
कार्यदलको बैठकमै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले हस्ताक्षर दुरुपयोग भएको बताएका जनाइएको छ । कार्यदलको बैठकमा राष्ट्रिय सभामा एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्न पार्टीभित्रै अन्तर्घात भएकोबारे समेत छलफल भएको जनाइएको छ ।