२५ असार २०८३, बिहीबार

अवैधानिक प्रधानमन्त्रीले गरेको विघटन अवैधानिक छ भन्ने दाबीसहित सर्वोच्च जाँदैछौं– रमेश लेखक

अवैधानिक प्रधानमन्त्रीले गरेको विघटन अवैधानिक छ भन्ने दाबीसहित सर्वोच्च जाँदैछौं– रमेश लेखक
फाइल फोटो

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले अवैधानिक प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभाको विघटन अवैधानिक भएको दाबीसहित सर्वोच्च अदालत जान लागेको बताएका छन् । 

आफूसँग बहुमत छैन भनेर वैकल्पिक सरकार गठनका लागि आग्रह गरेका प्रधानमन्त्रीलाई निरन्तरता दिने काम पनि अवैधानिक भएको उनले दाबी गरे । 

कांग्रेस संसदीय दलको कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेता लेखकले राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा वैकल्पिक सरकार बनाउन भनिएको उल्लेख भएकाले धारा ७६ (३) अनुसारको सरकार भनिएकाले अहिलेका प्रधानमन्त्रीको निरन्तता वैधानिक नभएको उनले दाबी गरे । लेखकसहित अधिवक्ताहरू बसेर रिट तयारी गरिरहेका छन् । 

‘अहिलेको प्रतिनिधि सभाको विघटन अवैधानिक छ, अवैधानिक प्रधानमन्त्रीले गरेको विघटन वैधानिक हुन्छ ? उहाँले धारा ७६ (३) अनुसार बहुमत ल्याउन सक्दिन, प्रधानमन्त्री रहन सरकार चलाउन सक्दिन भन्नु भएको हो, राष्ट्रपतिको विज्ञप्तिमा वैकल्पिक सरकार बनाउने भनेको छ । वैकल्पिक सरकार बनाउन राष्ट्रपतिलाई आग्रह गरिएको छ । वैकल्पिक भनेको यो बाहेकको सरकार हो । त्यस्तो प्रधानमन्त्रीले निरन्तरता पाएर संविधानसम्मत हुनसक्छ ? अहिलेको विघटन अवैधानिक भएकाले संवैधानिक लडाईं लड्ने भनिएको हो,’ लेखकले भने । 

राष्ट्रपतिले कोसँग बहुमत छ भन्ने कुरा जाँचै नगरेको उनले जिकिर गरे । ‘प्रधानमन्त्रीले ३ जनाको दस्तखत लिएर जानु भएको हो । देउवाले १४९ जनाको लिएर जानु भएको हो । बहुमत नभएको प्रधानमन्त्रीलाई निरन्तरता दिने काम अवैधानिक हो, अवैधानिक प्रधानमन्त्री र अवैध सरकारले गरेको विघटन अवैध भएको हामी न्यायिक र राजनीतिक लडाईं लड्ने कुरा गरेका हौं,’ लेखकले भने । 

salt training

कमेन्ट गर्नुहोस्