
चितवन राष्ट्रिय निकुञ्जले अवैध रूपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ ।
नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरूलाई पक्राउ गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सोमवार बिहान ३ बजे भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूका साथबाट एउटा बोलेरो जीप, २ स्कुटर, २ क्विन्टल माछा र ४४ थान तियारी जाल बरामद गरिएको छ । उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा लगाई कानूनी कारबाही गरिने निकुञ्जले जनाएको छ ।