११ साउन २०८३, सोमबार
जसपा विवाद

महन्थले पठाए उपेन्द्रलाई ७ बुँदे स्पष्टीकरण पत्र : ओलीलाई समर्थन नगरी देउवाको पक्षमा हस्ताक्षर किन ? (पत्रसहित)

पार्टी एकता भएदेखि नै उपेन्द्रले गुटगत गतिविधि सञ्चालन गरेको आरोप
महन्थले पठाए उपेन्द्रलाई ७ बुँदे स्पष्टीकरण पत्र : ओलीलाई समर्थन नगरी देउवाको पक्षमा हस्ताक्षर किन ? (पत्रसहित)

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई ७ विषयमा स्पष्टीकरण सोध्दै पत्र पठाएका छन् । ठाकुरले पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार स्पष्टीकरण पत्र पठाएका हुन् ।

मंगलबार यादवलाई सम्बोधन गरेर पार्टीको लेटरप्याडमा प्रेषित पत्रमा ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी स्पष्टीकरण पठाउन अनुरोध गरिएको छ ।

‘विगत केही दिनहरुमा तपाईंको काम कारबाही र क्रियाकलापहरू हाम्रो पार्टी, जनता समाजवादी पार्टी नेपालको मूल्यमान्यता, नीति तथा विधान विपरित भैरहेको हुँदा तपाईंलाई पार्टी विधानको दफा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार यो स्पष्टीकरण सोध्ने कार्य भएको छ’, ठाकुरको पत्रमा भनिएको छ, ‘उल्लेखित विषयहरुमा आजको मितिदेखि ३ दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन हुन अनुरोध छ ।’

स्पष्टीकरणमा यादवले पार्टी एकता भएदेखि नै गुटबन्दी गर्दै आएको भन्दै यसबारे जवाफ माग गरिएको छ । ‘पार्टी एकता भएदेखि नै समायोजनमा रुचि नलिइ विभिन्न जिल्लाहरुमा पार्टी एकताविरोधी गुटगत रुपमा बैठक, प्रशिक्षण, गोष्ठी, भेला जस्ता गतिविधिहरु किन सञ्चालन गर्नुभयो’, स्पष्टीकरण पत्रमा यादवलाई सोधिएको छ ।

यस्तै आफ्नो जानकारी बेगर अनधिकृत रुपमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक राखि लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरुलाई किन निष्काशन गरेको भन्ने प्रश्न पनि ठाकुरले गरेका छन् ।

जेठ ७ गते पार्टीद्वारा गरिएको सर्कुलर बमोजिम जेठ ८ र ९ गतेको बैठक स्थगित गरिएको भएपनि कुन मनसायका साथ एकपक्षीय रुपमा कार्यकारिणी समिति बैठक राखियो भन्ने प्रश्न पनि ठाकुरले गरेका छन् ।  यस्तै ठाकुरले एकल अध्यक्षतामा यादवले बैठक राखेर विभिन्न खाले निर्णय गरेकोबारे पनि स्पष्टीकरण माग गरेका छन् ।

मधेशीको माग पूरा गराउने सन्दर्भमा लागेका लक्ष्मणलाल कर्ण र सर्वेन्द्र नाथ शुक्लालाई यादवले अनुशासनको कारबाही अघि बढाउन पर्ने कारणबारे पनि ठाकुरले स्पष्टीकरण सोधेका छन् भने ओलीलाई प्रधानमन्त्रीमा समर्थन नगरेर काँग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै हस्ताक्षर गर्नुको कारण पनि स्पष्टीकरणमार्फत ठाकुरले माग गरेका छन् ।

‘तपाईंले मिति २०७८–०२–०६ गते संसदीय दलद्वारा गरिएको निर्णय बमोजिम संविधानको धारा ७६(५) अनुसार प्रतिनिधिसभा सदस्य श्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा त्यसको विपरित विपक्षी गठबन्धनका उम्मेदवार श्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा जेठ ७ गते किन र कुन कारणले हस्ताक्षर गर्नुभयो ?’, ठाकुरको स्पष्टीकरण पत्रमा यादवलाई सोधिएको छ ।

यस्तै सर्वोच्च अदालतमा पार्टीको निर्णय बेगर विपक्षी गठबन्धनको रिटमा यादवले हस्ताक्षर गर्नुको कारणबारे पनि स्पष्टीकरण माग गरिएको छ ।

पछिल्लो समय जसपाभित्र विवादले उग्र रुप लिएको छ भने ठाकुर र यादव पक्षले छुट्टाछुट्टै बैठक राखेर एकअर्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

मूलतः केपी ओली नेतृत्वको सरकारमा जाने गरी ठाकुर पक्ष लागेको र यादव पक्ष ओली सरकारको विपक्षमा रहेकै कारण पार्टीभित्र विवाद चर्किएको हो ।

salt training

कमेन्ट गर्नुहोस्