ललितपुर, १८ जेठ– ललितपुर धोबिघाटस्थित किड्ज मन्टेश्वरीका शिशु बालबालिका बोक्ने भ्यानका ड्राइभरले बिना लाइसेन्स गाडी चलाउदा शुक्रवार ११ जना शिशु झण्डै एक घण्टासम्म प्रहरी चौकीमा बस्नु परेको छ ।

शुक्रवार बिहान बच्चाहरु लिएर मन्टेश्वरी जादैँ गरेको उक्त भ्यान चलाई अनियन्त्रित भएको देखेर त्यहाँस्थित प्रहरी निरीक्षकले क्रस चेक गर्दा लाइसेन्स नभएको पाइएको हो । मन्टेश्वरी स्कूललेबा ६ च ८६२९ नम्बरको भ्यान बच्चाहरु स्कूलमा ल्याउन र पु–याउन प्रयोग गर्दै आएको छ ।
मन्टेश्वरीले केशव रजकसँग भ्यान भाडामा लिएर चलाउदै आएको थियो । रजकले लाइसेन्स नभएका शौरभ मगरलाई भ्यान चलाउन जिम्मा दिएका थिए । लाइसेन्स नलिएका चालकले चलाएको भ्यान शुक्रवार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले भ्यान नियन्त्रणमा लिएपछि ती भ्यानमा बसेका शिशुहरु सहित भ्यान प्रहरी चौकीमा पुगेको थियो । प्रहरीले भ्यान नियन्त्रणमा लिएपछि बालबालिका तनावका देखिएका थिए । केही समय पहिले मादक पदार्थ सेवन गरेर चलाएको भ्यान दुर्घटनामा पर्दा बालबालिका घाइते भएका थिए ।
भ्यानमा सवार बच्चाहरुलाई उनीहरुका अभिभावकलाई जिम्मा लगाइएको सानेपा प्रहरी निरीक्षक रामकृष्ण सापकोटाले बताए ।