
दोस्रो लहरको कोभिड–१९ महामारी फैलिँदा विद्यालयका प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा संक्रमण बढ्दै गएपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भक्तपुरले कोभिड ‘आर्थिक सहयोग एवं घरघर स्वास्थ्य सेवा’ अभियान शुरू गरेको छ ।
प्याब्सन भक्तपुरले कोभिड संक्रमित प्याब्सन आबद्ध प्रिन्सिपल, संस्थापक, शिक्षक, कर्मचारीका लागि ‘कोभिड राहत कोष’ स्थापना गरेको छ ।
प्याब्सन भक्तपुरका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको संयोजकत्वमा कोषाध्यक्ष डिल्लीराज जोशी सदस्य सचिव तथा उपाध्यक्ष राजन कसपाल, उपाध्यक्ष विणा पाण्डे, प्याब्सन भक्तपुर नगरध्यक्ष रमेशचन्द्र श्रेष्ठ, मध्यपुरथिमि नगरध्यक्ष निलेश आचार्य, सूर्यविनायक नगरध्यक्ष सानुराजा कार्की, चाँगुनारायण नगरध्यक्ष राममणि न्यौपाने, प्याब्सन भक्तपुर नगर कोषाध्यक्ष शिवकुमार कोजु, मध्यपुरथिमि नगर कोषाध्यक्ष सुमन बस्नेत, सूर्यविनायक नगर कोषाध्यक्ष भोला चौधरी, चाँगुनारायण नगर सदस्य राजेश दाहाल सदस्य रहेको प्याब्सन कोभिड राहत कोष गठन गरिएको हो ।
अभियानअन्तर्गत प्याब्सन भक्तपुरले पहिलो चरणमा अस्पतालमा आईसीयू, भेन्टिलेटर र अन्य शय्यामा उपचाररत आफ्ना सदस्य विद्यालयका संस्थापक प्रिन्सिपल, शिक्षक, कर्मचारीलाई आर्थिक सहयोग गरेको प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार अभियानले शय्या अभावमा अस्पतालमा शय्या खोजी, अक्सिजन, प्लाज्मा, औषधि, एम्बुलेन्सको व्यवस्थापन गर्दै आएको छ ।
जिल्ला प्याब्सन भक्तपुरअन्तर्गत सदस्य विद्यालयका १२३ प्रिसिन्पल, शिक्षक, कर्मचारीलाई कोभिड संक्रमण भएर अस्पताल र होम आइसोलेसनमा उपचार गराइरहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
अस्पतालमा रहेकामध्ये केहीको अवस्था जटिल रहेपछि कोष स्थापना गरिएको छ ।
प्याब्सनले दोस्रो चरणअन्तर्गत होम आइसोलेशनमा रहेर स्वास्थ्यलाभ गराइरहेका विद्यालयका संस्थापक, प्रिन्सिपल, शिक्षक, कर्मचारी लगायतलाई ‘घरघर स्वास्थ्य सेवा’ सञ्चालनमा ल्याएको छ । घरमै बसेर संक्रमणसँग जुधिरहेकाहरूका लागि प्याब्सनले दोस्रो चरणको अभियानअन्तर्गत घरमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन शुरू गरेको छ ।
नौलो ज्योति स्कूलका प्रिन्सिपल शिवकृष्ण श्रेष्ठले १० वटा अक्सिजन सिलिन्डर बराबर १ लाख ४० हजार रुपैयाँसँगै विभिन्न विद्यालयका प्रिन्सिपलको थप सहयोगबाट अभियान सञ्चालनमा आएको छ ।