
उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीमा दोस्रो वरीयताको पद हालै खडा गरिएको छ र त्यसमा किम जोङ उनकी बहिनी यो जोङलाई राख्न खोजिएको छ, एक विज्ञले बुधवार बताए भनी दक्षिण कोरियाको समाचार संस्था योन्हापले खबर दिएको छ ।
वर्कर्स पार्टीले जनवरी महिनामा गरेको बैठकमा फर्स्ट सेक्रेटरी पोस्ट भन्ने नयाँ पद बनाउनका लागि नियम परिवर्तन गरिएको थियो । किमभन्दा एक दर्जा मात्र मुनिको उक्त पदमा को बस्ने भनी विभिन्न अनुमान गरिएका थिए ।
‘
किमको स्वास्थ्य लगायत आकस्मिक अवस्थामा यो जोङले डेपुटीको यो पद लिने अनि किमको छोरामा शक्ति हस्तान्तरण नगरिउन्जेल उत्तराधिकारीका रूपमा शासन चलाउने व्यवस्था गरिएको जस्तो देखिन्छ,’ दक्षिणका पूर्व एकीकरण मन्त्री ली जोङ–स्योकले सञ्चारकर्मीहरूलाई बताए ।
फर्स्ट सेक्रेटरीको निर्वाचनका लागि पार्टी कांग्रेस नै आयोजना गर्न नपर्ने र स्थायी कमिटीको प्लेनरी सेसनबाटै नियुक्त गर्न मिल्ने उनको भनाइ छ ।
अर्थात्, किमलाई जरूरी परेमा त्यस पदमा तत्कालै कसैलाई नियुक्त गर्न सक्छन् ।
किमका निकट सहयोगी जो योङ वनलाई उक्त पदमा निर्वाचित गरिएको अनुमान लगाइएको छ । तर उनी किम परिवारको सदस्य नभएकाले उनले उक्त पद पाउने सम्भावना नरहेको ली बताउँछन् ।