०३ असार २०८३, बुधबार

शान्ति समाजको २६ औँ स्थापना दिवसमा रक्तदान

शान्ति समाजको २६ औँ स्थापना दिवसमा रक्तदान

शान्ति, मानव अधिकार, लोकतन्त्र एवं मानवीय सेवामा काम गर्ने उद्देश्यले स्थापना भएको मानव अधिकार तथा शान्ति समाजको २६ औँ स्थापना दिवसका अवसरमा १६ जिल्लामा सहयोगसहित रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

शान्ति समाज काठमाडौँ शाखाले तारकेश्वरस्थित नवजीवन परोपकार समाज र कागेश्वरी मनोहरास्थित ज्येष्ठ नागरिक आश्रमलाई खाद्य सामग्री सहयोग गरेको छ । समाज चितवन शाखाद्वारा आयोजित रक्तदानमा २५ र दाङ शाखाद्वारा आयोजित कार्यक्रममा १५ जनाले रक्तदान गर्नुभएको समाजले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दाङ शाखाले मेट्रो अस्पताल अस्वारलाई एक हजार लिटरको पानी ट्याङ्की र कोरोना विशेष अस्पताल बेलझुण्डीलाई दुई थान त्रिपाल सहयोग हस्तान्तरण गरेको छ ।  

रुपन्देही शाखाले सिर्जनशील समाजद्वारा सञ्चालित बालगृहलाई खाद्यान्न सहयोग गर्नाका साथै प्रादेशिक अस्पतालमा कार्यरत र उपचाररत बिरामीलाई खाजा खुवाएको छ । समाज स्थापना दिवसका अवसरमा नुवाकोट शाखाले ज्येष्ठ नागरिक वृद्धाश्रम देवीघाटलाई, पाल्पा शाखाले पाल्पाको नारायणस्थानमा श्रमिकलाई, नवलपुर शाखाले गैँडाकोटको अपाङ्ग जीवन विकास संस्थालाई, तेह्रथुम शाखाले म्याङलुङ आश्रममा खाद्य सामग्री सहयोग गरेको छ । 

तेह्रथुम र झापा शाखाले कोभिड नियन्त्रणमा केन्द्रित रही सचेतना कार्यक्रम गरेका छन् । स्थापना दिवसकै अवसरमा नवलपरासी सुस्ता पश्चिम शाखाले बर्दघाट नगरपालिकाद्वारा सञ्चालित कोभिड अस्पतालमा उपचाररत बिरामीका लागि १७ वटा सिलिण्डरमा अक्सिजन भरी सहयोग गर्ने कार्यक्रम रहेको जनाएको छ ।

मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि क्रियाशील स्वयंसेवी संस्था समाजको स्थापना २०५३ साल जेठ १९ गते भएको थियो । समाजको संस्थापक सभापति कृष्ण पहाडी र संस्थापक महासचिव सुवास ढकाल हुन् ।

कृष्ण कँडेल, लीला खनाललगायत संस्थापक सदस्य छन् । समाजको हाल केन्द्रीय सभापति गोविन्द खनाल छन् भने सल्लाहकारमा पूर्वसभापतिद्वय होमकान्त चौलागाईं र उत्तम पुडासैनी छन् ।

यसैगरी पूर्वसभापति डा गङ्गाधर अधिकारी यसअघि सल्लाहकार रहिसकेका  छन् ।

हाल ३९ जिल्ला शाखा र एक हजार ४०० भन्दा बढी आजीवन सदस्य रहेको समाजमा स्थापनाकालदेखि सदस्यता लिनेहरुको सङ्ख्या १२ हजार नाघेको छ । 

salt training

कमेन्ट गर्नुहोस्