
बागलुङको ढोरपाटन नगरपालिकाबाट लागूऔषध र भरुवा बन्दुकसहित प्रहरीले २ युवालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यलय बुर्तिबाङबाट खटिएको टोलीद्वारा ढोरपाटन–४ भाँगीका स्थानीय २ युवाले घरमा लुकाइछिपाई राखेको करीब २ किलो २०० ग्राम चरेशजस्तो देखिने पदार्थ, ७ किलो गाँजाको धुलो र १ भरुवा बन्दुक बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा खोजतलास गर्दा उनीहरूबाट चरेश, गाँजाको धुलो र भरुवा बन्दुक जफत गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
उनीहरूलाई लागूऔषध र भरुवा बन्दुकसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ढोरपाटन–४ का ३५ वर्षीय जीतबहादुर पुन र सोही ठाउँका ४१ वर्षीय डम्बरबहादुर पुन रहेका छन् ।
जीतबहादुरको घरबाट गाजाँको धुलो र डम्बरबहादुरको घरबाट चरेशजस्तो देखिने पदार्थ, केही गाजाँको धुलो र १ नाले भरुवा बन्दुक बरामद गरिएको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
उनीहरूलाई लागूऔषध तथा हातहतियारसम्बन्धी मुद्दा चलाइएको छ ।