
युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण ३५ वर्षीय डा. पशुपति रजौरियाको बुधवार राति मृत्यु भएको मेडिकल कलेजका सूचना अधिकृत सुशील गुरुङले जानकारी दिए ।
कलेजमा १६० जना स्वास्थ्यकर्मी संक्रमित छन् । कोरोना संक्रमित चिकित्सक रजौरियाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
मेडिकल कलेजमा उपचारार्थ चिकित्सकलाई थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।
कपिलवस्तु घर भएका डा. रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उनीहरू पति–पति दुवै कोरोना संक्रमित थिए । पत्नी डा. हसिना वानु संक्रमणमुक्त भएकी थिइन् । पत्नी वानु प्रसूति तथा स्त्री रोग विशषज्ञ हुन् ।
वैशाख २० गते कोरोना संक्रमण देखिएपछि डा. रजौरियाको कलेजमै एचडीयू कक्षमा उपचार भएको थियो । त्यसको ४ दिनपछि हेलिकप्टरमार्फत डा. रजौरियालाई काठमाडौं लगिएको थियो ।