काठमाडौं २० जेठ– चितवनको भरतपुर महानगरमा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्यायप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले सचिव गोकर्ण विष्टले आयोगको निर्णयले लोकतन्त्रको खिल्ली उडाएको र मुलुकलाई संकटमा धकेलेको प्रतिक्रिया दिए ।
‘निर्वाचन आयोगले संविधान, कानूनको बर्खिलाप हुने गरी, राजनीतिक दवावमा लाचार छाँया बनेर जुन निर्णय गर्र्यो, त्यो एमालेले कदापी स्वीकार गर्दैन’ सचिव विष्टले लोकान्तरसँग भने, ‘यो निर्णयले हामी स्तव्ध भएका छौं । यसले देशलाई गम्भीर संकट तिर धकेल्छ ।’
भरतपुरमा मतगणना सुचारु गर्नुपर्ने मागसहित संसदमा अबरोध गर्दै आइहरेको एमालेले पुनः मतदान गर्ने आयोगको निर्णय पछि संसद अवरोधलाई निरन्तरता दिँदै थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।
एमालेका अर्का नेता सुरेन्द्र पाण्डेले पनि आयोगको निर्णय एमालेले नमान्ने बताए । मतगणना स्थगित भएको एक हप्तापछि आयोगले शनिवार भरतपुर महानगरको १९ नम्वर वडाको मतपत्र बदर गर्दै सो वडामा पुनः मतदान गर्ने निर्णय गरेको हो ।