
युवा स्वास्थ्यकर्मी सुरेन्द्र सापकोटाले बुटवलको कोभिड अस्पतालमा काम गर्न थालेको झण्डै १ वर्ष पुग्नै थाल्यो ।
बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँका सापकोटा लुम्बिनी प्रादेशिक अस्पतालका ल्याब टेक्निनिसियन तथा धागो कारखानास्थित कोभिड अस्पतालको ल्याब इन्चार्ज हुन् ।
महामारीकै बीचमैं ‘फ्रन्टलाइनर’ बन्ने निर्णय गर्दा सुरेन्द्रले परिवारलाई ‘कन्भिन्स’ गर्न पनि निकै पापड पेल्नुपरेको थियो । गत वर्ष कपिलवस्तुमा कोभिडको टीमलाई सपोर्ट गर्दै ‘केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ’ गर्न जान परिवारले दिएनन् । बिस्तारै परिवारलाई ‘कन्भिन्स’ गरेर महामारीसँग लड्न प्रादेशिक अस्पतालमा पसेका हुन् उनी ।
मनमा अतिकति डरसँगै गत साउनदेखि कोभिड बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्दा सापकोटाले छिमेकीको पनि अपहेलनाका वाणी सुन्नुपर्यो । कोरोना शुरू भएको केही महिनापछि महामारीविरुद्ध डटेर संक्रमितको स्वाब, ब्लड, दिसापिसाब संकलन गरी जाँच गर्न खटिएका ल्याब इन्चार्ज सुरेन्द्रको दिमागमा गत महिना कोरोनाको दोस्रो लहरको ‘पीक आवर’मा देखिएको भयावह अवस्था जतिसुकै बेला घुमिरन्छ । सुरेन्द्रले त्यो अवस्थालाई कोरोनाको सुनामीकै रूपमा लिएका छन् ।
प्रादेशिक अस्पतालको इमर्जेन्सीमा बिरामीको त्यो चित्कार र अक्सिजन अभाव तथा बेडमुनि, गल्ली र इमर्जेन्सीमा बिरामीको दिनदिनै मृत्युले गत वर्ष इटालीमा देखिएको चित्र उनलाई सम्झाइदियो । अस्पतालमा बिरामीको थेगिनसक्नु भीडसँगै हायलकायल दृश्य उनले देखे ।
उनी भन्छन्, ‘इमर्जेन्सीमा आएका बिरामी, एम्बुलेन्सबाट बिरामी झारौंला भन्दा शव निकाल्नुपर्यो । अटोरिक्सामा ल्याएका बिरामी त्यहीँ मृत्यु । ओ स्याड ! साँच्चै कहालीलाग्दो अवस्था ।’
‘बिरामी ‘अक्सिजन देऊ, मलाई बचाऊ’ भन्थे । बिरामीका आफन्तको रुवाबासी । उतातिर अक्सिजन सप्लाई फेलिएर भयो,’ एकदमै पीडादायक अवस्थाबारे सुरेन्द्रले भने, ‘गर्दागर्दै पनि बिरामीलाई बचाउन नसकिने अवस्था देखियो । अस्पतालको आकस्मिक कक्षमा एकैरातमा ६–७ जना बिरामीको मृत्यु भयो ।’
पछिल्लो १०/१२ दिनयता अस्पतालमा बिरामीको चाप घटेको छ । कोरोना जाँचको लागि पीसीआर जाँच गर्न आउनेको पनि कमी छ । सुरेन्द्र कामना गर्छन् – अब बचाउन सक्ने बिरामीलाई पनि अक्सिजन अभावले मृत्युतर्फ धकेल्ने अवस्था देख्न र भोग्न नपरोस् ।
अस्पतालको ‘फिवर क्लिनिक’ र स्वाब संकलन केन्द्रमा आउनेहरूको स्वाब सुरेन्द्रले संकलन गर्छन् । हालसम्म सुरेन्द्रले ६ हजारभन्दा बढीको स्वाब संकलन गरेका छन् । धेरै अस्पतालमा आउने व्यक्तिको र केही संक्रमितको घरमै पुगेर पनि स्वाब संकलन गरेका छन् उनले ।
‘मैले अस्पतालको स्वाब संकलन केन्द्रदेखि घरमै पुगेर पनि संक्रमित र कन्ट्रयाक्ट टेसिङमा परेकाहरूको स्वाब लिएको छु । कोहीले स्वाब लिँदालिँदै हाच्छिउ गर्छन् । स्वाब संकलन गर्दा अप्ठ्यारो परे पनि त्यसलाई कुनै झन्झट नमानी खटेको छु,’ उनले भने ।
शुरूमा पीपीई लगाउन समेत नआउने सुरेन्द्रले धागो कारखानाका सहकर्मी नर्स, चिकित्सक र स्वास्थ्यकर्मीको स्वाब संकलन गरेका थिए । हालसम्म उनी संक्रमणबाट जोगिएका छन् । बुधवार मात्रै उनकै नेतृत्वमा लुम्बिनी प्रदेशसभा सचिवालयमा गएर कर्मचारी सांसद र पत्रकारको पनि स्वाब संकलन गरियो ।
तराईको गर्मीमा ८ घण्टासम्म पीपीईमा पिल्सिएर शंकास्पद बिरामीदेखि आईसीयू र भेन्टिलेटरका बिरामीको स्वाब संकलन गर्ने कामले उनलाई खुशी दिइरहको छ । पीपीई माक्स, चस्मा र फेस शिल्ड लगाउँदा वाफले आँखै देख्न नदेख्ने अवस्था पनि आउने उनी बताउँछन् ।
‘घरपरिवारले यस्तो अप्ठ्यारो अवस्थामा छोराले जागिर शुरू नगरेको भए हुन्थ्यो भन्नुहुन्थ्यो तर मैले बिरामी खोज्दै अस्पतालको सेवामा प्रवेश गरे,’ सुरेन्द्र मुस्कुराउँदै भन्छन् । उनले जीवनमा कहिल्यै यस्तो महामारी आउला र महामारीमै ‘फ्रन्टलाइनर’ भइएला भन्ने कल्पनामा समेत सोचेका थिएनन् ।
प्रादेशिक अस्पताल प्रवेश गर्नुपूर्व पूर्वी नेपालको रौतहटमा रहेर एक गैरसरकारी संस्थामा जागिरे थिए उनी । महामारीमा त्यो प्रोजेक्ट स्थगित गरेर घर फर्किएका थिए । भारतको बैङलुरुबाट बीएस्सी एमएलटी सन् २०१७ मा र जनस्वास्थ्यमा स्नातकोत्तर २०१९ मा ‘पास आउट’ भएर उनी नेपाल फर्किएका हुन् । २०६७ सालमा उनले एसएलसी बुटवलबाटै उत्तीर्ण गरेका हुन् ।
‘कोरोना अस्पतालको आईसीयूमा भर्ना भएका बिरामीहरूले नजिकैको अर्काे बिरामीको मृत्यु भएको देख्दा एन्जाइटी र डिप्रेसनमा जाँदा अरुको पनि मृत्यु हुने गरेको देखियो,’ सापकोटा भन्छन्, ‘सामान्य भाषामा एन्जाइटी भनेका आत्तिने अवस्था हो । कुनै खतरा भनेर बिरामीको दिमाग र शरीरले महसूस गर्यो भने त्यस्तो हुन्छ । संक्रमितले नजिकैको बिरामीको मृत्यु भएको देख्दा मेरो अवस्था पनि अब त्यस्तै हुन्छ कि भनेर डराउने गरेका छन् ।’
आईसीयूमा कुनै संक्रमित बिरामीको मृत्यु भयो भने अर्को बिरामीले नदेख्ने गरी पर्दा लगाएर शवलाई ‘र्यापिङ’ गरिने उनी बताउँछन् ।
कोरोना संक्रमित अन्तिम अवस्थामा अस्पतालमा आउँदा दोस्रो लहरबाट धेरै संक्रमितको मृत्यु भएको सुरेन्द्र बताउँछन् । पछिल्लो समय चिकित्सकहरू असुरक्षित हुने अवस्था आएको उनको ठम्याइ छ । ‘चिकित्सा क्षेत्र भनेको ‘नो सरी’ हुने क्षेत्र हो । अस्पतालबाट बिरामी निको भएर घर जाँदा सबैभन्दा बढी खुशी अस्पतालमा कार्यरत चिकित्सकदेखि कर्मचारीसम्म हुन्छन् तर बिरामीको मृत्यु भयो भन्दै डाक्टरमाथि आक्रमण हुन्छ । यसले चिकित्सा क्षेत्र असुरक्षित बनाइयो,’ सुरेन्द्र भन्छन् ।
कोरोनाको दोस्रो लहरमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी कम प्रभावित भएका छन् । कोरोना संक्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीमा संक्रमण दर कम पाइएको छ । सरकारले स्वास्थ्यकर्मीलाई ‘मोटिभेट’ गर्ने योजना कहिल्यै ल्याउन नसकेको उनको ठम्याइ छ ।
रुपन्देहीमा पछिल्लो समय कोभिड अस्पताल निजी क्षेत्रबाट पनि सञ्चालनमा ल्याउन थालिएको छ । जीतगढीमा ५० शय्याको भेन्टिलेटर सहितको कोरोना अस्पताल सञ्चालनमा आएको छ । सिद्धार्थ बाल तथा महिला अस्पतालमा पनि आईसीयू सहितको ५० बेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ ।
‘वैशाख पहिलो साताबाट निजी क्षेत्रका कोभिड अस्पताल सञ्चालन भएको भए रुपन्देहीमा संक्रमितलाई अप्ठ्यारो पर्ने थिएन । भयावह देखिने थिएन,’ सुरेन्द्रले भने ।