
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको अवस्थाका फर्काउन तयार रहेको बताएपछि त्यसबारे औपचारिक धारणा बनाउन खनाल नेपाल पक्षको स्थायी कमिटी बैठक सोमवार बस्दैछ । ओलीले आइतवार राति ६ बुँदे प्रस्ताव सहित एमालेलाई जेठ ३ पूर्वको अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका थिए ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले अगाडी सारेको पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने प्रस्तावमा ओली लचक भएपछि यसबारे नेपाल समूहले औपचारिक धारणा सोमवार सार्वजनिक गर्ने बताएको छ । बिहान ११ बजेपछि स्थायी कमिटीको भर्चुअल बैठक बसेर औपचारिक निर्णय लिने सो पक्षका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
नेकपा एकता भंग गर्ने सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि खनाल नेपालले माओवादी केन्द्रसँगको पार्टी एकता भन्दा अगाडिको अवस्थामा फकाउनु पर्ने अडान राख्दै आएका थिए । जेठ ३ पूर्वको अवस्थामा पार्टीलाई फकाउने ओलीको निर्णयले एमालेमा हलचल पैदा भएको छ ।
‘पार्टीलाई जेठ २ मा फर्काउनु पर्ने हाम्रो बटम लाइन थियो, यसलाई एक कदम सकारात्मक भन्न सकिन्छ, तर यसबारे हामी छलफल गरेरै निश्कर्ष निकाल्छौ’ ओलीको प्रस्ताव बारे खनाल नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।
जेठ ६ गतेसम्म पार्टीलाई एकतापूर्वको अवस्थामा फर्काउनु पर्ने शर्त राखेको खनाल नेपाल समूहले अहिले प्रतिनिधि सभा विघटनबारे आत्मालोचना गर्नुपर्ने शर्त अगाडी सारेको छ । बिहीवार र शुक्रवार भएको केन्द्रीय सदस्यहरुको छलफलमा खनाल नेपाल पक्षले जेठ २ मा फर्किएर मात्र नपुग्ने भन्दै प्रतिनिधि सभा विघटन गल्ती भएकोले आत्मालोचना गर्नुपर्ने शर्त अगाडि सारेको थियो ।
ओलीले जेठ २ मा फर्किनको लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेका छन् । दोस्रो तहका नेताहरुसँगको छलफलमा संस्थापन पक्षले यही कुरा राखेको थियो । आइतवारको प्रस्ताव पछि नेता नेपालले निकटस्थहरुसँग प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता गर्नुपर्ने अडान रहेको बताएका छन् ।
जेठ २ मा फर्किने ओलीको प्रस्ताव पछि पार्टीमा एकता र सहमतिका लागि माधव नेपाल पक्षलाई थप दवाव पर्ने विश्लेषण गरिएको छ । प्रभावशाली नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा सन्देश लेख्दै ओलीको कदम सकारात्मक रहेको र छलफल बाट पार्टीमा एकता कायम गर्नुपर्ने बताएका छन् ।