फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंलाई मंगलवार थप्पड हान्ने व्यक्ति मध्यकालीन समयका लुगा लगाउन मन पराउने खालको भएको प्रहरीले बताएको छ ।
डेमिएन टी नाम गरेका ती व्यक्ति लामो कपाल पाल्छन् र चश्मा लगाउँछन् । उनले हिजो एउटा कार्यक्रममा म्याक्रोंलाई थप्पड हानेर म्याक्रोनिया मूर्दाबाद भन्दै नारा लगाएका थिए ।
म्याक्रोंले फ्रान्सका विभिन्न भागको भ्रमण गर्दै जनताको राय लिन खोजेका छन् । तर शुरूमै थप्पड र्खापछि उनको भ्रमण खल्लो बनेको छ ।
प्रहरीले डेमिएनको घरमा खानतलाशी गर्दा हतियार, सोभियत संघको झण्डा, हिटलरको माइन काम्फ पुस्तक, उपन्यास, कमिकका किताबहरू फेला पारेको थियो ।
डेमिएन एक अराजकतावादी भएको प्रहरीको दाबी छ तर उनी एक किसिमको उग्रवादी विचारबाट प्रेरित भएको हुन सक्ने भनी प्रहरीको अनुसन्धान केन्द्रित छ ।
उनीसँगै उनका साथी आर्थर सीलाई पनि हिरासतमा लिइएको छ । आर्थरले म्याक्रोंलाई गाली गरेको आरोप छ ।
ती दुईजना गृहनगर साँ–भालिएबाट ताँ–लर्मिताज गाउँ पुगेका थिए । त्यही गाउँमा म्याक्रोंले मतदाताहरूसँग भेटघाट गरेका थिए ।