
गण्डकी प्रदेशका कामु मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले सबै मन्त्रीहरुलाई आफ्नो निवासमा डाकेका छन् । उनले प्रदेशको मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुलाई डाकेको स्रोतले जनाएको छ ।
उनले मन्त्रिपरिषद् बैठक बसाइ संसद विघटनको सिफारिस प्रदेश प्रमुखसमक्ष पु¥याउने तयारी गरेको आशंका छ । तर यसबारे के हुन्छ भन्नेबारे पर्ख र हेरको अवस्था छ ।
यता, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूहरुलाई दिएको समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा नियुक्ति नगरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास रत्नचोक पुगेको छ ।
शुक्रबार समर्थनसहित हस्ताक्षर बुझाएका ३१ जना सांसद नै उपस्थित छन् । मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गर्दै सशरीर शुक्रबार प्रदेश प्रमुखसमक्ष हस्ताक्षर बुझाएका थिए ।
जसमा काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २–२ तथा स्वतन्त्र १ सांसद सहित बहुमत अर्थात ३१ सदस्यको समर्थन छ ।