२८ असार २०८३, आइतबार

गृृहमन्त्री अधिकारीले गरे सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

गृृहमन्त्री अधिकारीले गरे सशस्त्र प्रहरी प्रधान कार्यालयको निरीक्षण

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले शनिवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्दै राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भए गरेका कामकारवाहीबारे जानकारी लिएका छन् ।

गृहमन्त्री अधिकारीसमक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमि, संरचना, राष्ट्र र नागरिकको सुरक्षामा सशस्त्र प्रहरी बलको परिचालन, निर्वाचन सुरक्षा योजना तथा रणनीति, विद्यमान सुरक्षा चुनौती, कोभिड–१९ महामारीमा नेपाल एपीएफ अस्पतालले पुर्‍याएको योगदान, संयुक्त राष्ट्रसंघीय मिसनमा सशस्त्र प्रहरी बलको परिचालन, मानव अधिकारको संरक्षण र सम्वर्द्धन लगायत भए गरेका विविध विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराइएको थियो ।

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै उनीहरूको योगदानको स्मरण गरे । सशस्त्र प्रहरी बलमा आवद्ध रहेर सेवा गर्न पाउनु गौरवको विषय भएको तथा सशस्त्र प्रहरी कर्मचारीले सीमा सुरक्षामा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै राष्ट्र र नागरिकको सेवा सुरक्षामा पुर्‍याएको योगदानको कदर गरे ।

सशस्त्र प्रहरी बल नेपाल राष्ट्रको अभिन्न सुरक्षा निकायको रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै उनले भने, ‘कोभिड–१९ महामारी व्यवस्थापनमा एपीएफ अस्पतालबाट दिइएको सेवा तथा सुविधा अब्बल छ । भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच संगठनले गरेको कार्यको हृदयको गहिराइबाट सम्मान प्रकट गर्न चाहन्छु ।’

गृहमन्त्री अधिकारीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधनको क्रममा मन्त्रालय सशस्त्र प्रहरी बलका लागि आवश्यक साधनस्रोत, जनशक्ति र वृत्तिविकासको कार्यमा सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्दै कार्यक्षेत्रमा पूर्ण व्यावसायिक र उच्च मनोबलका साथ क्रियाशील रहन निर्देशन दिए ।

उनले समायानुकूल राशन व्यवस्थापन, वृत्तिविकास, बढुवा तथा थप जनशक्तिको लागि मन्त्रालयले सम्भव भएसम्म पहल गर्ने बताए ।

गृहमन्त्री अधिकारीले सदियौंदेखि सार्वभौम सम्पन्न सगरमाथाको देश नेपालको सीमा सुरक्षामा कटिबद्ध भई सुरक्षाकर्मीले मातृभूमिको सुरक्षार्थ जिम्मेवारी निर्वाहमा प्रदर्शन गरेको क्षमताको प्रशंसा गरे ।

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा गृहमन्त्री अधिकारीबाट भएको सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको मनोबल तथा हौसलामा वृद्धि भएको बताए । 

गृहमन्त्रीको निर्देशन र निरीक्षण भ्रमणको क्रममा भएको निर्देशनलाई अक्षरश पालना गरिने प्रतिवद्धता समेत उनले व्यक्त गरे । उनले भ्रष्टाचार तथा लैंगिक हिंसामा शून्य सहनशीलताको नीति कडाइका साथ पालना गर्दै संगठन अगाडि बढिरहेको बताए ।

महानिरीक्षक खनालले सीमा सुरक्षा तथा व्यवस्थापन जस्तो संवेदनशील र नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको विषयलाई थप प्रभावकारी बनाउन सुदूर पूर्वको ओलाङचुङ्गगोलादेखि सुदूरपश्चिमको छाङ्गरु तथा सुस्तादेखि कञ्चनपुुरको ब्रह्मदेवसम्मको स्थानमा गण, गुल्म र बीओपीका माध्यमबाट तैनाथ रही इमान्दार, अनुशासित एवं व्यावसायिक रूपमा राष्ट्रको सुरक्षा, राष्ट्रियताको जगेर्ना एवं जनताको सेवा, सुरक्षा र उद्वार कार्यमा अहोरात्र परिचालन हुँदै अन्य सम्वद्व निकायसँग सहकार्य र समन्वय गरी आफ्नो जिम्मेवारी र उत्तरदायित्वलाई पूरा गर्दै आएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्