
अबिरल वर्षापछिको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा ठूलै विनाश निम्त्याएको छ ।
कैयन घरहरू पुरिएका छन् भने धनजनको ठूलै क्षति भएको छ ।
केहीले परिवारका सदस्य गुमाएका छन् भने केही वर्षौं दु:ख गरेर बनाएको घरमा क्षति तथा त्यसभित्र रहेका सामानहरू बगाउँदा दु:खी छन् ।
स्थानीय रामकृष्ण खड्काको पीडा, उनकै शब्दमा :
मेरो नाम रामकृष्ण खड्का हो । धेरै दुःख गरेर एउटा घर बनाएको थिएँ । आज मेलम्ची खोलो आएर डुबानमा पार्यो । यस्तो होला भन्ने कल्पना पनि गरेको थिइनँ । घरबाट खोलो १५० मिटर टाढा थियो । यहाँसम्म बाढी आउला भनेर त कसले कल्पना गरेको थियो र ? सुरक्षित भएरै यहाँ आयुर्वेदिक अस्पताल बन्दै थियो ।
खोलामा बाढी त हिजो साँझ ६ बजेदेखि आएको हो । खोला बढेपछि हामीलाई डर लागेको थियो । मेरो घरमा भने बिहान मात्र खोला पसेको हो । मेलम्ची खानेपानीको ड्याम फुटेर बाढी आएपछि घरभित्र पानी पस्यो । घरभित्र केही नगद, सुनचाँदी लत्ताकपडा र अन्नबाली थियो । केही भाँडाबाहेक अरू निकाल्न सकिनँ । अहिलेसम्म यहाँ उद्धारका लागि कोही आएको छैन ।
(रामकृष्ण खड्कासँग गरिएको कुराकानीमा आधारित)