२६ जेठ २०८३, मंगलबार

उपचारका लागि दिल्ली जानुअघि झलनाथको अपिल– ‘पार्टी फुट होइन एकता जोगाउन प्रयत्न गरौं’

उपचारका लागि दिल्ली जानुअघि झलनाथको अपिल– ‘पार्टी फुट होइन एकता जोगाउन प्रयत्न गरौं’
बुधवार नर्भिक अस्पतालमा झलनाथ खनाललाई भेट्दै एमाले महासचिव ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई एकताबद्ध बनाउन अपिल गरेका छन् ।

देशका प्रमुख दलहरू र तिनका नेताहरू बीचको अनावश्यक टकराव, महत्त्वाकांक्षा र व्यक्तिगत इगो साँध्ने कार्य यथाशीघ्र अन्त्य गरिनुपर्ने उनले बताए । 

उपचारका लागि भारतको राजधानी दिल्ली जानुअघि एक अपिल प्रकाशित गर्दै खनालले पार्टीलाई फुटतर्फ धकेल्न नहुने बताएका हुन् ।

‘पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्‍यौं भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट–फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु,’ खनाललेअ पिलमा भनेका छन् । 

मिर्गौलामा समस्या देखिएपछि खनाल उपचारका लागि आज नयाँ दिल्ली जाँदैछन् । एपोलो अस्पतालमा खनालको उपचार हुनेछ ।

‘उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याका कारण डाक्टरहरूको सल्लाहमा म आज केही दिनका लागि देशबाहिर जाँदैछु । मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्न चाहन्छु । सफल उपचारपछि म स्वदेश फर्केर यहाँहरूमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु,’ खनालले भनेका छन् । 

हेर्नुहोस अपिल :

प्रेस वक्तव्य !!!

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, 

उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरू माझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु । 

देशको बिथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्प हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पर्यो र अहिले नेकपा (एमाले) मा परिरहेको छ ।

राष्ट्रिय एकता-अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बाको रुपमा रहेका दलहरूभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपूर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु बीचको अनावश्यक टकराव, महत्त्वाकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामी सबै एकजुट भएर मुलुकका मूलभूत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु । 

हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको बलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दुसम्म आइपुगेको हो । सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस्, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको छ ।

तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामीमा देखिएको अनेकौं गलत प्रवृत्तिहरू, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जीवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ । देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ ।

विगतमा हामी सबै मिलेर ठूल्ठूला सफलताहरू प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट विनासको ।

त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामी सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट-फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु । 

धन्यवाद !

salt training

कमेन्ट गर्नुहोस्