काठमाडौं, २२ जेठ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको सम्पत्तिमाथि छानबिन अघि बढाएको छ ।
विशेष अदालतले शर्मालाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनको सम्पत्तिमाथि अख्तियारले छानबिन थालेको हो, कारोबार दैनिकमा खबर छ ।

कर फछ्र्याैट आयोगमार्फत विभिन्न व्यापारिक फर्महरूलाई छुट दिएर राज्यलाई अर्बौं रुपैयाँ नोक्सानी पु¥याएको आरोपमा बयान दिने क्रममा अख्तियारले शर्मालाई शुक्रबार पक्राउ गरेको थियो । आइतबार शर्मालाई म्याद थप गर्न बबरमहलस्थित विशेष अदालतमा उपस्थित गराइएकोमा विशेषले एक सातासम्म हिरासतमा राख्न स्वीकृति दिएको छ ।
अख्तियार स्रोतका अनुसार शर्माले सेवा प्रवेश गरेदेखि आर्जन गरेको परिवार तथा आफन्तका नाममा रहेको चलअचल सम्पत्ति विवरण संकलन कार्य भइरहेको छ । केही वर्ष सरकारी लेखापालको रुपमा काम गरेका शर्माले २०५१ मा शाखा अधिकृतमा नाम निकालेपछि ओखलढुंगा पदस्थापना भए । त्यसको केही वर्षमै राजस्वतर्फ उपसचिव पास गरेसँगै उनी आकर्षक मानिएका कर कार्यालयसहित अर्थ मन्त्रालय अन्तर्गतका विभिन्न युनिटमा काम गरेका थिए ।
२०६५ मा सहसचिव बनेका उनी काठमाडौं, सुनसरी र ललितपुरको प्रमुख जिल्ला अधिकारी, महालेखा परीक्षकको कार्यालय, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग हुँदै आन्तरिक राजस्व विभागको महानिर्देशक बनेका हुन् ।
सुनसरी र ललितपुरको प्रमुख जिल्ला अधिकारी हुँदा क्रमशः सुगम ग्याँस र क्रसर उद्योग सञ्चालनसम्बन्धी विवादास्पद निर्णय गराएर मोटो रकम हात पारेको आरोप उनीमाथि लागेको थियो ।