१२ असार २०८३, शुक्रबार

कोरोना रोक्न ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय

कोरोना रोक्न ‘स्मार्ट लकडाउन’ गर्ने सीसीएमसीको निर्णय

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ ।

जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ ।  

प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधवार बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसिया जस्ता देशमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ । यी देशबाट हप्तामा २ हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् । 

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टीनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कूल १५ दिन बस्नुपर्ने क्वारेन्टीनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।  

बैठकले सीसीएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावश्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइने समेत निर्णय गरेको छ । 

गैरआवासीय नेपालीबाट पठाइन लागेको अक्सिजन सिलिन्डर ल्याउन हवाई ढुवानी भाडा सरकारले उपलब्ध गराउने एवं इजरायल सरकारबाट सहयोग स्वरूप दिन लागिएको सघन उपचारमा प्रयोग हुने सामग्री स्वीकार गर्ने निर्णय बैठकले गरेको छ । 

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताए ।

कोभिड नियन्त्रणका लागि सबैभन्दा महत्त्वपूर्ण र अनिवार्य तत्व खोप नै भएको उल्लेख गर्दै उनले त्यसका लागि ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको र आगामी साउनदेखि लगाउन थालिने बताए । त्यसबाहेक अन्य देशसँग पहल प्रयत्न भइरहेकाले खोपको अभाव क्रमशः हल हुँदै जाने उनले बताए ।

कोभिड–१९ कुनै एक निकायको मात्र जिम्मेवारी नभएको बताउँदै प्रधानमन्त्रीले सबै मन्त्रालय र निकायले समन्वयात्मक ढंगले काम गर्न पनि निर्देशन दिए । 

salt training

कमेन्ट गर्नुहोस्