२१ जेठ २०८३, बिहीबार

४० लाख ठगी गरेको आरोपमा बैतडीमा १ जना पक्राउ

असार ३, २०७८
४० लाख ठगी गरेको आरोपमा बैतडीमा १ जना पक्राउ

विभिन्न प्रलोभन देखाएर १ वर्षदेखि ठगी गर्दै आएको आरोपमा बैतडीबाट बुधवार पाटन नगरपालिका–२ सिलङ्गाका ३४ वर्षीय कमलराम विक पक्राउ परेका छन् ।

विकलाई बुधवार घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज एवं प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बीमा भरेमा अनुदान दिन्छु भनी ठगी गरेको भन्दै  स्थानीयले दिएको जाहेरीका आधारमा विकलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शाहीले बताए ।

विकले सिटिजन लाइफ इन्स्योरेन्समा बीमा भरिदिन्छु भन्दै स्थानीयबाट रकम संकलन गरेर ठगी गरेको पाइएको छ ।  

उनले भने, ‘महेन्द्रनगरबाट २५ लाख रुपैयाँ र बैतडीबाट १५ देखि २० लाख रुपैयाँ रकम संकलन गरेर स्थानीयलाई निजले ठगेको प्रारम्भिक अनुसन्धानले देखाएको छ, नियन्त्रणमा रहेका विकमाथि आज मुद्दा दायर हुन्छ ।’

सिगास र महेन्द्रनगरको संयुक्त टोलीले जाहेरी दिएका छन् । उनले थपे, ‘१ वर्षदेखि बीमाको एजेन्ट भनी ठग्दै हिँडेको रहेछ, पछिल्लो ४ महिनादेखि प्रहरीले खोजी गरिरहेको थियो ।’ 

कमलराम बीमाको एजेन्ट भए पनि उनीमाथि कम्पनीलाई पनि ठगेको आरोप लागेको छ । स्थानीयबाट बीमा गरिदिन्छु भन्दै पैसा लग्ने गरेको भए पनि कम्पनीलाई नबुझाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेका कमलमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमलले ठगी गरेको भन्ने ६० जना जति सम्पर्कमा आएको शाहीको भनाइ छ । 

कमलराम विकसँगै २ जना अरु पनि ठगी कार्यमा संलग्न रहेको बुझिएको र उनीहरू फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्