फूटबल खेल हेर्दा हृदयघात हुन सक्ने भनी वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
जर्मनीको माइन्जमा रहेको योहानेस गुटनबर्ग विश्वविद्यालयले ब्राजिलमा सन् २०१४ मा भएको विश्वकपका बेलामा जर्मनीका अस्पतालमा भर्ना भएका मानिसको अध्ययन गर्दा प्रतियोगितामा हृदयघातको केस ५ प्रतिशतभन्दा बढी भएको पाए ।
युरोकप चलेको बेलामा ठूला टीमको खेल हुँदा अस्पतालमा थप कर्मचारी र शय्याको व्यवस्था गर्न अस्पताललाई समय दिने यसका अध्ययनकर्ताहरूले बताएका छन् ।
अध्येताहरूले हृदयघातका कारण अस्पतालमा भर्ना भएका र बितेका मानिसलाई चारवटा समयमा विभाजन गरेर हेरेका थिए । विश्वकप चलेको बेलामा १२ जुनदेखि १३ जुलाई २०१४ सम्मको एउटा अवधि थियो । अनि फूटबल प्रतियोगिता नचलेको अर्को तीन अवधि लिइएको थियो ।
प्रतियोगिता चलेको बेलामा अस्पताल भर्ना भएका बिरामीको संख्या उच्चतम रहेको पाइएको थियो ।
अध्ययनका प्रमुख अथर डा कार्स्टन केलर मुटुविशेषज्ञ हुन् उनले भने, ‘फूटबल प्रतियोगिता चलेको बेलामा हृदयघात भएर अस्पतालमा भर्ना भएकाहरूको संख्या उच्चतम थियो ।’
३१ दिन विश्वकप चल्दा १८ हजार ४७९ जना भर्ना भएका थिए । अनि विश्वकप सकिएको ३१ दिनसम्मको आँकडा हेर्दा त्यो संख्या घटेर १७ हजार ४८२ मा पुगेको थियो ।
प्रशंसकहरूमा भावनात्मकताको उभारमा ५.४ प्रतिशतले वृद्धि भएको पाइयो । त्यसले रगतलाई डल्लो गराउने हर्मोन बढाएको पाइयो ।