२१ जेठ २०८३, बिहीबार
बाढीले छाडेपछिको मेलम्ची पुग्दा

मेलम्ची बजार छाड्दै सोनामले भने– 'ज्यान बाँचे केही गरी खाउँला, अब गाउँ गएर बाँझो कोर्छु'

मेलम्ची बजार छाड्दै सोनामले भने– 'ज्यान बाँचे केही गरी खाउँला, अब गाउँ गएर बाँझो कोर्छु'

शुक्रवार दिउँसो सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ७ स्थित मेलम्ची बजार पुग्दा ३८ वर्षीय सोनाम लामा पत्नी र छोरालाई साथमा लिएर सामानहरूको पोकापन्तुरा बनाउँदै थिए ।

आँगनमै गाडी रोकिएको थियो । फर्निचरहरू छरपस्ट थिए । केही सामान गाडीमा लोड भइसकेको थियो ।

मेलम्ची बजार त्यही ठाउँ हो, जहाँ मंगलवार र बुधवार आएको भीषण बाढीले निकै ठूलो क्षति पुर्‍याएको थियो ।

मेलम्चीको पुरानो बजारमा एक तल्लासम्मका घरहरू पुरिएका थिए भने दोस्रो तल्लासम्म पनि बाढी पसेको थियो ।

त्रासको त्यो क्षण बितेको केही घण्टा मात्र भएको छ । अब सोनाम बजार छाडेर गाउँ फर्किने तयारीमा छन् ।​

***

सोनामको घर सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका वडा नम्बर २ नुर्बुली हो ।

उनी ५ वर्षअघि परिवारसहित बजार झरेका थिए ।

८/९ लाख रुपैयाँ लगानी गरेर बजारमा सानो होटल सञ्चालन गरे ।

दुई छोरी, एक छोरा र श्रीमतीसहितको परिवार त्यही होटलबाट भएको कमाइले पाल्दै आएका थिए ।

महिनामा ४० हजार रुपैयाँ जति कमाइ हुन्थ्यो । दैनिकी राम्रैसँग चलिरहेको थियो ।

तर मंगलवार नसोचेको विपद् आइलाग्यो ।

मेलम्ची खोला हुँदै इन्द्रावतीमा आएको भीषण बाढीले उनका धेरै सपनाहरू बगाएर लग्यो ।

होटलमा रहेका सामानहरू बगे । खाद्यान्न केही बाँकी रहेन । होटलका डेकोरेसनहरू सबै भत्किए ।

करीब ३५ लाखको क्षति भएको उनको गुनासो छ ।

तर, सौभाग्य नै भन्नुपर्छ परिवारका सबै सदस्यले ज्यान जोगाउन सफल भए ।

***

बाढी त आयो, गयो । तर त्यसले उनको दैनिकी पूरै बदलिँदै छ ।

अझै २/३ महिना खतरा छ, नबस्नू भनेपछि उनी परिवारसहित गाउँ फर्किने निष्कर्षमा पुगे ।

गाउँ गएपछि के गरी खाने भन्ने निधो छैन । तर बाँझिएका जमिन कोर्ने योजना बनाएका छन् ।

'ज्यान बाँचे त केही न केही गरी खाउँला, पहिला ज्यान बचाउनुपर्‍यो,' सोनामले लोकान्तरसँग भने, 'गाउँमा जग्गा जमिन बाँझिएका छन् । अब बाँझो फुटाएर खेती गर्नुपर्ला ।'

अब फेरि बजार झरिएला/नझरिएला निधो छैन ।

त्यसैले उनले फर्निचरका सामानहरू पनि सबै गाउँ लैजाँदै छन् ।

दु:खका बेला आफ्नै जन्मभूमि काम लाग्ने रहेछ ।

साँझसम्ममा पुर्ख्यौली घरमा छिरेर थोरै भएपनि चैनको श्वास लिने उनको धोको छ ।

salt training

कमेन्ट गर्नुहोस्