
समयमै वर्षा हुँदा मध्य असारमै कर्णालीमा ५० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ ।
कृषि विकास निर्देशनालय सुर्खेतले आकाशेपानीको भरमा धान रोप्नुपर्ने अधिकांश स्थानमा समेत रोपाइँ भइसकेको जनाएको छ ।
निर्देशनालयका अनुसार जुम्लामा सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ भएको छ । हुम्ला र डोल्पामा ८०/८०, मुगुमा ७०, रुकुम पश्चिम र जाजरकोटमा ६५/६५ प्रतिशत खेतमा रोपाइँ गरिएको छ ।
सल्यानमा ६०, दैलेख र कालीकोटमा ४५ र सुर्खेतमा २० प्रतिशत रोपाइँ भइसकेको जनाइएको छ ।
निर्देशनालयका सूचना अधिकारी याम रानाले कर्णालीमा धान खेती हुने ४१ हजार ५०५ हेक्टरमध्ये २० हजार ४०० बढी हेक्टर क्षेत्रफलमा धान रोप्ने काम सकिएको जानकारी दिए । असार १५ गतेको तथ्यांक संकलन हुन बाँकी रहेकाले यो संख्या बढ्ने उनको भनाई छ ।
‘यसपटक समयमै मनसुन सक्रिय भयो, किसानले समयमै बिउ राख्न, खेत खनजोत गर्न पाए,’ सूचना अधिकारी रानाले भने, ‘समयमै वर्षा हुँदा उत्पादन राम्रो हुनेछ, कृषकहरू पनि उत्साही छन् ।’
गत वर्ष धानको उत्पादकत्व प्रतिहेक्टर ३.९५ प्रतिशत थियो । यस वर्ष बढ्ने अपेक्षा गरिएको छ । प्रदेशमा बर्सेनि झण्डै २६ हजार मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको छ ।
पछिल्लो तथ्यांक अनुसार कर्णालीमा ३ लाख १६ हजार ३९१ मेट्रिक टन हाराहारीमा धान उत्पादन हुन्छ । यहाँ ३ लाख ४८ हजार ७३२ मेट्रिक टन खाद्यान्न आवश्यक पर्दछ । कर्णालीका सुर्खेत र सल्यान मात्र धान उत्पादनमा आत्मनिर्भर मानिन्छन् ।