
प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् ।
संसद दिवस २०७८ को अवसरमा प्रकाशित शुभकामना सन्देशमा सापकोटाले दोस्रो पटक असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरिएको आरोप लगाएका हुन् ।
‘यस बर्ष संसद दिवस मनाउँदै गर्दा हामीले चौतर्फी संकट बेहोरिरहेका छौं । कोभिड संकट जारी रहँदा यस बीचमा संघीय संसद, प्रतिनिधि सभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ । गहिरिँदो राजनीतिक संकटका बीच हामी मौसम जन्य विपत्तिको पनि सामना गरिरहेका छौं । संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधि सभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ’ सापकोटाले भनेका छन् ।
सापकोटाले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई जीवन्त र जनमुखी बनाई लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण गरी लोकतन्त्रको लाभलाई जनस्तरसम्म पुर्याउनु आजको आवश्यकता रहेको उल्लेख गरेका छन् । वि.सं.२०१६ साल असार १६ गते नेपालमा संसदको पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष यस दिन संसद दिवस मनाउने गरिएको छ ।