
कोभिड – १९ महामारीका कारण बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुचारु भएको छ ।
कोभिड – १९ महामारीको संक्रमणलाई ध्यान दिँदै सरकारले वैशाख १६ देखि निषेधाज्ञा जारी गरेसँगै वैशाख २० गतेदेखि आन्तरिक उडान बन्द गरेको थियो ।
बिहीबारदेखि आन्तरिक उडान सुचारु भएको हो । आन्तरिक उडान खुलेसँगै देशका विभिन्न भेगबाट मानिसहरुलाई काठमाडौं आउन र काठमाण्डौ बाहिर जान सहज भएको छ ।
हवाई यात्रा मार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिनुभएका यात्रुहरुले फेसशिल्ड, मास्क र सेनिटाइजर लगायतको व्यवस्थासहित सुरक्षित तवरले विमानस्थल उत्रिएको प्रतिक्रिया दिए ।
उडान खुलेको पहिलो दिन विमानस्थलमा भीडभाड बढेको देखिएको छ । स्वास्थ्य सावधानी अपनाउन यात्रु बीच भौतिक दुरीको पालना गराउन सकिएन भने कोरोना संक्रमणको जोखिम बढ्ने देखिन्छ ।
वर्षाको समयमा स्थलयात्रा गर्नका लागि सडकहरुमा बाढी, पहिरो र दुर्घटनाको जोखिम बढ्ने कारणले यात्रुहरूको रोजाई हवाई मार्ग हुने गरेको छ ।
आज पहिलो दिनदेखि नै आन्तरिक टर्मिनल भवनमा यात्रुहरूको चाप अत्याधिक रहेको छ ।
कोरोना संक्रमणबाट जोगिनका लागि विमानस्थलमा पनि जनस्वास्थ्यको कडा मापदण्ड परिपालना गराउनुपर्ने देखिन्छ ।