०३ असार २०८३, बुधबार

काठमाडौंमा यात्रुबाट बढी भाडा लिने चालक पक्राउ

असार १७, २०७८
काठमाडौंमा यात्रुबाट बढी भाडा लिने चालक पक्राउ
प्रतिकात्मक तस्वीर

ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टिकट काउन्टरका कर्मचारी र निजी सवारीसाधनका चालक रहेका छन् । 

निषेधाज्ञा खुकुलो भएपछि शुरू भएको अनुगमनका क्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि प्रहरीको सम्बन्धित प्रभागमा पठाइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र १–०१–००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षीय पुण्यप्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ वर्षीय सन्तबहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक इलाम घर भएका २६ वर्षीय खेमबहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

ललितपुरको बालकुमारीबाट भक्तपुर बस्ने ४६ वर्षीय राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणामा लिइएको छ भने सोही स्थानबाट सप्तकोसी हाइस काउन्टरमा काम गर्ने झापाका २८ वर्षीय संजय खड्कालाई बढी भाडा लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइ प्रहरी वृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कञ्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ वर्षीय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नम्बरको मारुती भ्यान चालक धनकुटाका ३९ वर्षीय हरेन्द्र बुढाथोकी रहेका छन् ।

पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्तमा बुझाएको महाशाखाले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिई ठगी गरेको कसूरमा हालसम्म ६९ जनालाई पक्राउ गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्