०३ असार २०८३, बुधबार

क्यानडामा रेकर्ड तोड्ने गर्मी भएपछि लाग्यो डढेलो, नगरै सखाप

असार १८, २०७८
क्यानडामा रेकर्ड तोड्ने गर्मी भएपछि लाग्यो डढेलो, नगरै सखाप

क्यानडामा लगातार तीन दिन कीर्तिमान भंग हुने गरी गर्मी भएपछि डढेलो लागेको छ । 

गर्मी बढेर एक समयमा ४९.६ डिग्री सेल्सियस पुगेको थियो । 

बुधवार भ्यानकुभरभन्दा १५३ किलोमिटर उत्तरपूर्वमा डढेलो लागेर एउटा नगर समेत सखाप पारेको छ । डढेलो तीव्र गतिमा लागेपछि अधिकारीहरूले मानिसलाई ठाउँ सर्नका लागि आदेश दिन समेत भ्याएनन् । 

उपत्यकामा कालो बाक्लो मुश्लो भरिएको देखेपछि स्थानीयहरूले जे भेटिन्छ त्यही समाते अनि दौडिए । त्यसको केही घन्टापछि अधिकांश भवनहरू आगोको शिकार बने । 

‘हाम्रो सानो नगर लीटन स्वाहा भयो,’ एडिथ लोरिङ–कुहांगाले फेसबूकमा लेखिन् । उनी सुटकेस, सिरानी र कम्प्युटर केस समातेर दौडिन् । आगोका कारण ठूलो विस्फोट भए पनि उनी आफ्नो पर्स लिनका लागि दौडिइन् । 

‘हामीले सबैजनालाई वाहनमा राख्यौं र गाडी कुदायौं । लीटनमा बिजुलीबत्ती वा इन्टरनेट केही पनि थिएन र सबैजना आफन्तको खोजी गरिरहेका थिए,’ उनले लेखिन् । ‘यो भयावह विनाश हो । म सबैजना स्तब्ध छौं । समुदायका सदस्यहरूले सबै कुरा गुमाइसकेका छन् ।’

त्यस ठाउँमा अहिले गर्मी केही घटेको भए पनि क्यानडाका पश्चिमी प्रान्तहरूमा उखरमाउलो गर्मीको असर देखिन थालेका छन् । गर्मीले गर्दा मानिसहरूको मृत्यु हुने र डढेलो फैलिने डर बढ्दै गएको छ । 
 

लीटन नगरका बासिन्दालाई आगलागी हुन सक्ने चेतावनी त दिइएको थियो तर यति छिटो आइपुगेर नगर नै सोत्तर पार्ला भनी अधिकारीहरूले सोचेकै थिएनन् । चर्को हावा चलेकाले आगो बढ्दै गएर केही क्षणभित्रै भवनहरू स्वाहा बनाएको थियो ।

जलवायु परिवर्तन तथा विश्व तापक्रममा वृद्धिका कारण क्यानडा जस्तो चिसो ठाउँमा पनि भयंकर गर्मी हुन थालेको विज्ञहरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्