२४ जेठ २०८३, आइतबार

छिमेकीसँग कतारको तनाव बढ्नुका यी हुन् तीन कारण

कात्तिक २०, २०७४
छिमेकीसँग कतारको तनाव बढ्नुका यी हुन् तीन कारण

६ वटा अरब मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध तोडेका छन् । साउदी अरबले कतारसँगको भूमि सीमा बन्द गरेको छ र आयातहरूमा रोक लगाएको छ । यो पूर्ण युद्ध हो, सामान्य झगडामा यो सीमित रहेन । कतारमा सत्तापरिवर्तन नै यो योजनाबद्ध अभियानको उद्देश्य हो ।

संयुक्त अरब अमिरात र साउदीको नियन्त्रणमा रहेका सञ्चारमाध्यमले कतारविरुद्ध भीषण आक्रमण गरेपछि ऊ तहसनहस हुन्छ र विश्वकप त के अरू केही पनि आयोजना गर्न सक्दैन भनी सोचेका थिए ।

उनीहरूले चर्को स्वरमा यस्तो दाबी गरेका थिए: कतारले सबै आतंकवादीलाई लगानी गर्छ, कतारलाई खाडी क्षेत्र ध्वस्त पार्न दिनुहुँदैन, कतारले इरानका विषयमा धारणा प्रस्ट पार्नुपर्छ । अनि कतारका अमिरलाई इजिप्टका मोहम्मद मोर्सीको भाग्यका विषयमा पनि सम्झाइएको थियो ।

गल्फ कोअपरेसन काउन्सिलको एक सदस्य राष्ट्रका राज्यप्रमुखलाई सत्ताच्युत गर्ने धम्की एकल मतले दिइएको थिएन । अमेरिकामा साउदी स्वार्थलाई प्रतिनिधित्व गर्ने व्यक्ति सलमान अल–अन्सारीले ट्वीट गरे, ‘ए कतारका अमिर, तपाईंले इरानको अतिवादी सरकारसँग साझेदारी गरेको अनि मुसलमानको पवित्र तीर्थस्थल रहेको देशलाई दुर्व्यवहार गरेको अवस्थामा म भन्न चाहन्छु, मोहम्मद मोर्सीले पनि ठ्याक्कै यही गरेका थिए र उनी त्यसपछि सत्ताच्युत भएर कारावासमा परेका थिए ।’

साउदी पत्रिकाहरूमा यो फ्रन्ट पेज समाचार बनेको थियो ।

यमनसँग जोडिएको दक्षिणी सीमालाई सुरक्षित पार्न सैन्य सहायता गर्ने साझेदार कतारका विरुद्ध यसो भन्नु अचम्मको कुरा हो । आफूविरुद्ध इरानसमर्थक भएको आरोप लागेपछि एक राजनीतिक विपक्षीलाई साउदीसमक्ष सुपूर्दगी गर्ने कतार सरकारलाई साउदीले यसो भन्नु आश्चर्यजनक छ । साउदी राजा सलमानले कतारको भ्रमण गरेर त्यहाँका अमिरसँग नाचेका पनि हुन् । यस्तो अवस्थामा यो आक्रमण अचम्मलाग्दो छ ।


तर राजालाई आफ्नो ३१ वर्षीय छोरोले आफ्नो नाम बेचेर के गरिरहेको छ, शायद थाहा छैन ।

जेठ १० गते कतार समाचार संस्थालाई ह्याक गरेको त फायर खोलेको मात्र हो । ह्याक भएको केही मिनेटभित्रै अल अरेबिया टीभी र स्काई न्युज अरेबियाले झुटो सामग्रीयुक्त पाठ उद्धृत ग–यो । बीस मिनेटभित्र समाचार नेटवर्कहरूले यसको विश्लेषण, अन्तर्निहित अर्थ, उद्धरण र ट्वीट गर्न थाले ।

कतारका अमिरले अमेरिका र साउदी अरबको आलोचना गरेको र इरानलाई मुसलमानी शक्ति भनेको र इजरायलप्रति नरम दृष्टिकोण राखेको भनी ह्याक भएको समाचारमा लेखिएको थियो । कतारी अधिकारीहरूले ह्याक्ड सामग्रीलाई तत्कालै हटाएका थिए ।

अर्को अनौठो संयोग: यसभन्दा अघि अमेरिकी प्रेसमा कतारले क्षेत्रीय अस्थिरता निम्त्याइरहेको भन्दै १४ वटा लेख प्रकाशित भए । यो पनि अचम्मलाग्दो छ किनकि यसअघि अमेरिकी सञ्चारमाध्यममा कतारका बारेमा लेख प्रकाशित गर्न कसैले चासो दिएको थिएन ।

यसबाट के भएको हो प्रस्ट हुन्छ । यो सुनियोजित आक्रमण थियो । किन र कसरी आक्रमण गरियो चाहिँ अलिक अस्पष्ट छ ।

हो, कतारले इजिप्टका राजनीतिक निर्वासितहरूलाई पहिलेदेखि नै समर्थन गर्दै आएको हो । हमासका पूर्वनेतालाई पनि दमास्कस छोडेपछि उसले आश्रय दिएको हो । तर कतारको अलजजीरा टीभीले साउदी अरबलाई चिढ्याउने कुनै रिपोर्ट प्रकाशित गर्ने गरेको छैन । अहिले कसरी अरिंगालको गोलो चलाइयो त ?


यसमा तीन कारण देखिन्छन् । पहिलो कारण भनेको साउदीका अधिराजकुमार मोहम्मद बिन सलमान र अबु धाबीका युवराज मोहम्मद बिन जायेदले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई अवसरका रूपमा लिएका छन् । सन् २०१३ को जुनमा इजिप्टका मोहम्मद मोर्सीलाई सत्ताच्युत गरेर शुरु गरेको सिलसिला ट्रम्प सत्तामा हुँदा पूरा गर्न सकिने उनीहरू विश्वास गर्छन् । निर्वाचित सरकारहरूविरुद्धको प्रतिक्रान्ति त्यत्ति राम्ररी चलिरहेको छैन । इजिप्टमाथि अर्बौं डलर खर्च गरिसकिएको भएपनि त्यहाँ अझै स्थिरता आएको छैन । लिबियामा तीन विभिन्न सरकारले शक्तिमा हानाथाप गर्दैछन् ।

त्यसैले साउदी, युएई र इजिप्टले साझेदारी गरेर सबै विरोधी अरब मुलुकलाई ध्वस्त पार्न खोज्दैछन् ।
दोस्रो कारण चाहिँ व्यक्तिगत छ । कतारमाथि आक्रमण गरेर उनीहरू बाहिरी विपक्षीका साथसाथै घरभित्रैका प्रतिपक्षी शक्तिलाई पनि चुप लगाउन चाहन्छन् । साउदीका बिन सलमानको कुरा गर्नुपर्दा उनी राजपरिवारमा विपक्षीलाई मौन गराउन चाहन्छन् र आफूभन्दा ठूला दाइ मोहम्मद बिन नायेफलाई युवराज बन्नबाट रोक्न चाहन्छन् ।

ट्रम्पको पछि लागेर बिन सलमान र बिन जायेदले आफूलाई सजिलो हुने अनुमान गरेका छन् । तर ट्रम्पले कार्यकाल पूरा गर्ने कुनै ग्यारेन्टी छैन । यस्तो ग्यारेन्टी नभएकाले उनीहरू कतारका अमिरलाई सत्ताच्युत गराउन चाहन्छन् किनकि उनले नै अरब क्षेत्रका क्रान्तिमा लगानी गरेका हुन् र ती क्रान्तिविरुद्ध साउदी र अमिरातीहरू अझै लडिरहेका छन् ।


कतारमाथि आक्रमणको तेस्रो कारण यसभन्दा गहिरो छ । साउदी र युएई कतारलाई स्वतन्त्र राज्यका रूपमा नै देख्न चाहँदैनन् । हुन त अहिलेको शताब्दीमा देशै खाइदिने कुरा पागलपन जस्तो लाग्छ । अनि त्यसमाथि कतारमा अमेरिकाको केन्द्रीय कमान्डको आधारइलाका छ । त्यसैले युएईले कतारबाट अमेरिकी आधारइलाका हटाउनका लागि वाशिङटनसमक्ष तीव्र अभियान चलाएको छ ।

तर अहिले कतारविरुद्धको यो अभियान २१औं शताब्दीका घटनासँग मात्र सम्बन्धित छैन । रियादमा सरकारी स्वीकृतिप्राप्त ब्लगरहरूले ट्वीटका सिलसिला चलाउँदै सय वर्षअघिका कुराहरू उठाइरहेका छन् । उनीहरूले कतारको शासन चलाउन अल–थानी परिवारलाई बेलायतले छानेको कुरा खोतलेका छन् ।

ती ब्लगरहरू कतारको अहिलेको समस्या मोहम्मद अल–थानीसँग बेलायतले सन् १८६८ मा गरेको सम्झौतासँग जोडिन्छ भन्छन् । यो सम्झौताका कारण अल–थानी परिवारले अन्य कबिलामाथि राजनीतिक अधिकार जमाएको उनीहरू लेख्छन् । अल–थानी परिवार कतारका लागि ठीक छैन, उनीहरूलाई हटाउनुपर्छ भन्ने आशययुक्त लेखहरू साउदी सञ्चारमाध्यममा आइरहन्छन् ।

साउदी पत्रिका अल एक्तिसादियाले ट्वीट गर्दै कतारमा राजाले जेठो छोरोलाई नभई मन परेको छोरोलाई शक्ति हस्तान्तरण गर्ने परम्परा चलाएको लेख्यो । अनि तेलबाट हुने ४० प्रतिशत आम्दानी शाही परिवार अल–थानीले आफूमाझ बाँड्ने गरेको लेख्यो ।

तेलबाट आर्जित सम्पत्तिको वितरणको कुरा गर्नुपर्दा साउदी अरबको तुलना कतारसँग हुन सक्दैन । कतारमा संसारकै सबभन्दा धेरै प्रतिव्यक्ति आय छ, साउदी अरबभन्दा तीन गुणा ज्यादा । कतारमा लगभग शतप्रतिशत रोजगारी छ भने साउदीमा बेरोजगारी दर आधिकारिक नै १२ प्रतिशत छ र अनधिकारिक आँकडामा त यो २५ प्रतिशत छ ।

त्यसैले कतारको सम्पत्तिमाथि साउदी अरबको आँखा गडेको छ । कतारलाई दास बनाउन सके पूरै अरब खाडीमा आफ्नो एकछत्र राज हुने साउदी अरबको आशा छ । यस क्षेत्रमा शिया इरानको प्रभाव पूर्ण रूपमा निस्तेज होस् भन्ने उसको चाहना हो ।


त्यसो त साउदीमा पनि मोहम्मद बिन सलमान राजा सलमानका जेठा छोरा होइनन्, मन पराइएका छोरा चाहिँ हुन् । त्यसैले छिमेकीविरुद्ध शक्ति हस्तान्तरणमा गडबडीको आरोप लगाउँदा साउदी राजपरिवारका खराब अभ्यासहरू उजागर हुने गरी आरोप फर्किन सक्छन् ।

साउदीका बिन सलमान र युएईका बिन जायेद अहिले पनि साम्राज्यवादी कालकै चिन्तन राख्छन् । उनीहरू कबिला नेता जस्ता छन्, आफ्नो सुरक्षाका लागि उनीहरू अमेरिकालाई पैसा तिर्छन् अनि अरब क्षेत्रको स्रोतसाधन रित्याउँछन् । उनीहरूले कतार जस्ता देशविरुद्ध षड्यन्त्र गर्लान् र त्यहाँका शासकलाई सत्ताच्युत गराउन पनि सफल होलान् तर उनीहरू आफैं शासन चलाउन र क्षेत्रलाई स्थिर बनाउन सक्दैनन् । उनीहरूसित क्षेत्रको लागि कुनै भिजन छैन । उनीहरूलाई आफ्नै स्वार्थ मात्र प्यारो छ । त्यसैले उनीहरूले जतिसुकै कहर ल्याएपनि नयाँ, स्वायत्त र आधुनिक अरब अन्ततोगत्वा उदाउनेछ भन्नेमा म आशावादी छु ।

मिडल इस्ट आईका प्रधानसम्पादक डेभिड हर्स्टको लेख ‘थ्री पोटेन्सियल मोटिभ्स बिहाइन्ड द टेन्सन बिट्वीन कतार एन्ड इट्स गल्फ नेबर्स’ को भावानुवाद

अनुवादक: विन्देश दहाल

salt training

कमेन्ट गर्नुहोस्